८३ झ्याल र ५३ ढोका भएको राणाकालीन गर्भा दरबार जीर्ण

कैलालीको खैराला गाविसमा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बनेको छ । विक्रम संवत १९८४ सालमा खड्क शम्सेर जबराले निर्माण गरेको ऐतिहासिक संरचना संरक्षणको अभावमा खण्डहरमा परिणत हुँदै गएको हो ।
राणाकालिन दरबार जीर्ण हुँदै गइरहेको भए पनि त्यसको संरक्षणमा सरोकारवाला निकायले ध्यान दिन सकेका छैनन् । दरबारमा पछि लगाइएको टिनको छाना हावाले उडाइसकेको छ भने पानी चुहिएर पर्खाल भत्किसकेको छ । 
दरबार संरक्षण गर्न सके पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने संभावनासमेत रहेको छ तर संरक्षण र पर्यटकीय रुपमा विकास गर्न पहल भएको देखिँदैन । स्थानीय बासिन्दाले ऐतिहासिक दरबारको संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।
खैराला-३, का दुर्गाप्रसाद ढुंगानाले दरबार दिन प्रतिदिन भत्किने क्रममा रहेको बताए । उनले कतिपय भाग भत्किएको उल्लेख गर्दै संरक्षणका लागि पहल नभएको गुनासो गरे । सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यकीय संभावना बोकेको क्षेत्र खण्डहरमा परिणत हुँदै गएको उनको भनाई छ ।
केही वर्षअघिसम्म गर्भा दरबाटबाट गाविस कार्यालय सञ्चालन गरिँदै आएको थियो । दरबारको केही भाग गाविस कार्यालयका लागि प्रयोग भएपछि भवनको संरक्षणमा केही टेवा पुगेको थियो तर पछि राजनीतिक खिचातानीका कारण गाविस कार्यालय वडा नम्बर १ स्थित जगातीमा सारियो ।
भवन प्रयोगविहीन बनेपछि भत्किँदै गएको स्थानीयको भनाई छ । कलाकृति जडित भित्ताहरु २०५५ सालदेखि भत्किन सुरू भएको स्थानीय प्रकाश गुरुङले बताए ।
राणा शासनकालमा निकै चहल-पहल रहने गरेको गर्भा दरबारमा त्यो चहलपहल २०३२ सालसम्म मात्रै रह्यो । खड्क सम्शेरका छोरा बहादुर शम्सेरपछि गर्भा दरवार बहादुर शम्सेरका साहिँला छोरा तेजप्रकाश सम्शेर जबराको भागमा परेको स्थानीय जानकार बताउँछन् । राणाशासनको अन्त्यपछि पनि शाशकहरु बसेका उक्त दरबारमा २०३३ सालपछि भने कोही पनि बास नबसेको बताइन्छ ।
खैराला हावापानी, मौसम र भौगोलिक रुपमा अत्यन्त उपयुक्त भएकाले राणा शासकहरूले गर्भालाई रोजेको हुनसक्ने बुझाई स्थानीय बासिन्दाको छ । मास पिसेर त्यसबाट चुनाई गरिएको गर्भा दरबारमा ८३ झ्याल, ५३ ढोका छन् ।
१० रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार तीन खण्ड र तीन तले छ । सुरक्षाका दृष्टिकोणले दरबारभित्र भुईतले सुरुङ समेत बनाइएको छ । जो अहिले पुरिँदै गएको छ । राणा शासकहरू खैरालाको दरबारबाट डोटी बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फु काफलीमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको इतिहास खैरालाका बुढापाका सुनाउँछन् ।
करिब ९ दशक पुरानो राणाकालिन दरबार संरक्षण गर्न सके पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्न सकिने संभावना छ । तर, देशमा पटकपटक शासन व्यवस्था फेरिए पनि ऐतिहासिक महत्व बोकेको दरबारको मर्मत सम्भारमा सरकारी निकाय र राजनीतिक दलको ध्यान पुग्न नसकेको स्थानीय शिक्षक नारायणदत्त रजवारले बताए ।
कैलाली सदरमुकाम धनगढीबाट ४५ किलोमिटर उत्तर चुरे क्षेत्रमा पर्ने राणाकालिन दरबारको प्रवर्द्धनमा सरकारले ध्यान दिए पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने र यसबाट स्थानीयको जीवनस्तरमा सुधार गर्न सकिने उनको धारणा छ ।
(Onlinekhabar.com बाट साभार)

Comments

Popular posts from this blog

Tikapur Park

Gaura festival

धामीझाँक्री, हाम्रो समाज र हामी