अगाडी बढ्दै अत्तरिया

माओवादी सशस्त्र द्वन्द्वमा धेरै विस्थापित भए, तिनै विस्थापितको ओइरो लाग्दा अत्तरियाचाँहि विस्तारित भयो । भारत र चीन दुवैतिरको व्यापारिक मार्गमा पर्ने र सुदूरपश्चिम पहाडको प्रवेशद्वार भएकाले अत्तरिया सानोतिनो बजार त उहिलेदेखि थियो । तर, २०६० को दशकमा यसको विस्तार द्रुत गतिमा भयो ।
अत्तरिया चोक,कैलाली 
बसाइसराइका कारण दुई दशकअघि दर्जनजति पक्की घर देखिने अत्तरियामा अहिले पाँच सयभन्दा बढी पक्की घर ठडिएका छन् । व्यापारिक प्रयोजनका ठूलाठूला घर ठडिएका छन, ठडिने क्रम जारी छ । पूर्वपश्चिम राजमार्गले अत्तरियालाई पहिलोचोटी फस्टाउने मौका दियो । पहाडका मान्छेलाई राजमार्गमा यात्रा गर्न पुग्नुपर्ने जक्सन अत्तरिया भयो ।
कैलाली भन्सारबाट भित्रिने सामान पहाडी भागमा ढुवानी गर्ने मार्गमा पर्छ, अत्तरिया । ६० को दशकमा उत्तरतिर जाने भीमदत्त राजमार्ग बनेपछि अत्तरियाको वृद्धि ह्वात्तै भयो । भीमदत्त राजमार्गले बैतडी, डँडेल्धुरा, दार्चुला, डोटी, अछाम, बजाङ र बाजुराको प्रवेशद्वार अत्तरियालाई बनायो ।
यसपछि व्यापारिक मार्गमा परे पनि धनगढीको छाया“मा परेको अत्तरियाले गति पायो । माओवादी द्वन्द्वका कारण पहाडमा थातथलो छाड्नेका लागि आकर्षक ठाउँ अत्तरियानै बन्यो । सेना र सशस्त्र प्रहरीको बाहिनीका कारण अत्तरिया सुरक्षित ठानियो । सेना र सशस्त्र प्रहरीका क्षेत्रीय कार्यालयका साथै ट्राफिक प्रहरीको क्षेत्रीय प्रहरी कार्यालय स्थापना हुँदा अत्तरियाको बजार थप चम्कियो ।
२०६८ सालको जनगणनाअनुसार जनसंख्या वृद्धिदरमा काठमाडौंपछि दोस्रो स्थानमा कैलाली थियो । कैलाली जिल्लाको जनसंख्या झण्डै आठ लाख थियो । बसाइसराइ गर्नेका कारण सुदूरपश्चिममै जग्गाको कारोबार बढी छ र जग्गा महँगिएको छ अत्तरियामा । प्रदेश-७ को राजधानी अत्तरिया हुने सम्भावना/हल्लाले पनि अत्तरियामा घरजग्गा कारोबार बढाएको छ ।
जनसंख्या वृद्धिसँगै व्यापापारिक गतिविधिका साथै शिक्षा, स्वास्थ्य र पूर्वाधारमा फड्को मार्ने क्रम चलिरहेको छ । निजी क्षेत्रले लगानी गरेका गुणस्तरीय स्कुल/कलेज छन् । नजिकै (१४ किलोमिटर दुरी) धनगढीमा तीनवटा तारे होटेल सञ्चालनमा छन् । अत्तरियामा तारे होटेल नभए पनि सुविधासम्पन्न होटेल पर्याप्त छन् । पहाडतिर लाग्नपर्ने कतिपय यात्रु गर्मीको बेला धनगढीभन्दा थोरै सितल हुने भएकाले अत्तरियामा रात बिताउन खोज्छन् ।
सरकारी लगानीको रोजिन टर्पन्टाइन उद्योग अहिले निजी क्षेत्रले सञ्चालन गरिरहेको छ । सुदूरपश्चिम पहाडका लागि अत्यावश्यक वस्तु आपूर्ति गर्ने बजार भएकाले अत्तरियामा खाद्यान्न, लत्ताकपडालगायतका व्यापार बढी चम्किएको छ । खाद्य उद्योगमा लगानी गर्ने क्रम बढेको छ । क्षेत्रीय सहरी विकास आयोजना र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण सम्पन्न भएपछि अत्तरियाले थप उचाइ पाउनेछ ।

क्षेत्रीय सहरी विकास आयोजना

एडीबीले कैलालीको धनगढी उपमहानगरपालिका, अत्तरिया नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र झलारी पीपलाडी नगरपालिकामा एकै साथ सहरी विकास आयोजना लागू गर्ने सम्झौता गरेको छ । एडीबीले लगानी गर्ने दुई अर्ब सडक, ढल निकास, भवन, खेलमैदान र अरु अत्यावश्यक पूर्वाधारमा खर्च हुनेछ ।
कम्तीमा ३० मिटर चौडा कालोपत्रे सडक, नगरमा पानी नरोकिने गरी ठूलाठूला ढल निकास, नगरपालिका सहितका ‘मल्टी स्टोरी' भवन र सडकमा हरियालीसहित झिलिमिली सोलार सडक बत्तीको समृद्ध सहर परिकल्पना गरिएको छ । क्षेत्रीय सहरी विकास आयोजनाका कन्सल्टेन्टका लागि सहरी विकास तथा भवन डिभिजन कार्यालय धनगढीमा कार्यालय खोलिसकिएको छ । प्राविधिक कन्सलटेन्टले अबको एक वर्षभित्रमा योजना बनाउने र निर्माण काम गरिने बताइएको छ ।

शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान

अत्तरिया नगरपालिकाको भविष्य तय गर्ने अर्को आधार सहिद दसरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) हो । साविकको पाँच विकास क्षेत्र भएका बेला सुदूरपश्चिममा मात्रै मेडिकल कलेज थिएन । बाबुराम भट्टराई नेतृत्वकै सरकारका पालामा (२०६४ साल) सुदूरपश्चिममा मेडिकल कलेज स्थापना गर्ने घोषणा भए पनि कामले गति लिन सकेको थिएन । तर, यसपालि प्रतिष्ठानका लागि ५५ करोड रकम विनियोजन गरिएको छ ।
सहिद संघारी सामुदायिक बनको झन्डै ८८ बिघा जग्गाको भोगाधिकार मेडिकल कलेजले पाइसकेको छ, अहिले रुख कटानीको काम भइरहेको छ । अब निर्माण कार्यले गति पाउने आश गरिएको छ । मेडिकल कलेजका कार्यकारी निर्देशक यज्ञराज पुजाराले, सार्वजनिक खरिद नियमावलीमा संशोधनको मस्यौदा पारित हुने बित्तिकै निर्माण सुरु भैहाल्ने बताए ।
‘हामीले, खरिद ऐन संशोधनपछि, नियमावली संशोधन पर्खिरहेका छौं', उनी भन्छन, ‘यसपालि प्रशासनिक भवन र कलेज भवनको टेन्डर गर्ने तयारी छ ।' ‘गेटामा मेडिकल कलेज बने अत्तरियाको विकासले ठूलो फड्को मार्नेछ', कैलाली उद्योग वाणिज्य संघका पूर्वमहासचिव मोहनराज शर्माले भने, ‘व्यापारिक हब' मानिएको अत्तरिया सुदूरपश्चिमको स्वास्थ्यका लागि केन्द्र बन्नेछ ।'

देवभूमिको प्रवेश मार्ग

नेपालमा चतराधामपछि अत्तरिया नजिकैको गोदावरी धाममा पहिलो पटक २०७२ को माघमा महाकुम्भ लागेको थियो । वेदको मानसखण्डमा अष्ट गोदावरीमध्ये ६ वटा नेपालमै रहेको तथ्य उल्लेख छ । धार्मिक पर्यटनको सम्भावना बोकेको सुदूरपश्चिममा भगवतीका सात अवतार, बैतडीको त्रिपुरासुन्दरी, निङ्लासैनी, डिलासैनी र मेलौली, बाजुराको बडिमालिका, डँडेल्धुराको उग्रतारा, डोटीको शैलेश्वरी जाने मार्ग पनि अत्तरिया हो ।
अझ देशका चार धाममध्ये अछामको बैद्यनाथ धाम, डँडेधुराको परशुराम क्षेत्रको पनि प्रवेश मार्ग अत्तरिया हो । त्यसैले यसलाई देवभूमिको प्रवेशमार्ग पनि भनिएको गोदावरी कुम्भ मूल आयोजक समितिको संयोजक पदमराज जोशीले बताए । बैतडीको देवलहाटमा पाण्डवले वनबास गएका बेला बनाएका पञ्चदेवल छन् । यो क्षेत्र शिवपार्वतीको तपोमूमि पनि भनिन्छ ।
कैलाश मानसरोवर पनि बझाङपारीको हिमालमा पर्ने भएकाले सेती कर्णाली र गोदावरीको मुहान कैलाश पर्वत भएको मान्यताले पनि यसलाई देवभूमि मानिएको हो । गोदावरी पितृ मोक्षका लागि पनि तिर्थस्थल रहेको वेदहरूमा उल्लेख भएकाले, यस वर्षदेखि त्यहाँ पितृको श्राद्ध गर्ने पनि बढेका छन् ।
सोह्र श्राद्धका बेला दैनिक दुई/ढाई सयले पितृको श्राद्ध गोदावरीमा गरेकाले अत्तरियाको विकासले फड्को मारिरहेको छ । गोदावरी अत्तरिया चोकदेखि तीन किलोमिटर उत्तर चुरेको फेदमा पर्छ ।

महानगरपालिकाको सम्भावना

धनगढी उपमहानगरपालिका र अत्तरिया नगरपालिका जोडिएका छन् । धनगढी उपमहानगरपालिकामा पूर्वका दुई गाविस उर्मा र फुलबारी जोडेर उपमहानगरपालिका बनाइएको हो । दुवैमा एडीबीको क्षेत्रीय सहरी विकास कार्यक्रम लागू भएपछि यी दुवै मिलाएर महानगरपालिकाको अवधारणा पनि बहसमा आउन थालेको छ ।
यदि भविष्यमा अत्तरिया र धनगढी जोडिएर महानगरपालिका बन्यो भने अझ अत्तरियाको महत्व बढ्नेछ । धनगढी भारतको सीमासँग जोडिएको हुनाले, पूर्वाधार विकासको रेखा उत्तरतिर अथवा अत्तरियातिर बढ्नु स्वभाविक हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल हमालले भने, ‘दुवैलाई मिलाएर महानगरपालिका बनाए अत्तरियाको महत्व अझ बढनेछ ।

(स्रोत: अन्नपूर्णपोष्ट बाट शिवराज भट्टको सामग्री)

Popular posts from this blog

Doti District Nepal

Kailali district

Dadeldhura District