टीकापुर पार्क पर्यटकको गन्तव्यस्थल बन्दै

घुम्न जाने पर्यटकका लागि कैलालीको टीकापुरमा रहेको बृहत् उद्यान (टीकापुर पार्क) आकर्षक गन्तव्य बन्न थालेको छ ।

पार्क छेउमै रहेको कर्णाली नदीको कलकल बग्ने पानी, नदीको छालमा गरिने जलयात्रा (¥याफ्टिङ)को रोमाञ्च र पार्कमा फुलेका झन्डै ४२ प्रजातिका रङ्गी बिरङ्गी गुलाफका फूलले पर्यटकलाई आकर्षित गरेको हो ।

जिल्लाको पूर्वी क्षेत्रको टीकापुर बजार घुम्न जाने पर्यटकका लागि टीकापुर पार्क पहिलो रोजाइमा पर्ने गरेको छ । पर्यटकको गतिविधि बढेसँगै पार्कको यहाँको आम्दानीसमेत वृद्धि हुन थालेको छ ।

विगत दुई हप्ताभित्र मात्रै प्रवेश शुल्कबाफत झन्डै रु आठ लाख आम्दानी भएको पार्कका प्रमुख अर्जुन कुँवरले राससलाई बताउनुभयो । पार्कमा हरेक वर्ष कात्तिकदेखि जेठसम्म आन्तरिक र सार्क मुलुकका पर्यटक घुम्न आउने गर्छन् ।

तिहार पर्व सकिएसँगै यतिबेला देउसी भैलो खेलेर सङ्कलन भएको रकमबाट वनभोज खानेहरुको पार्कमा बढी घुइँचो लागेको छ । विसं २०२८मा स्थापना गरिएको यो पार्कको नौ बिगाहा क्षेत्रफलमा फलफूल र फूलको बगैँचा छ ।

टीकापुर बजारदेखि दक्षिणपूर्वी क्षेत्रमा रहेको यो पार्कमा तत्कालीन राजा महेन्द्रले एक महिना बसेर स्वास्थ्यलाभ गर्नुभएको थियो । पार्कमा महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम, वाटिकालगायतका संरचना छन् । रासस

Popular posts from this blog

Tikapur Park

Gaura festival

धामीझाँक्री, हाम्रो समाज र हामी