गौरा: एक कोलाज
राजेन्द्र नाथ ती दिनहरुमा हाम्रो विद्यालयको पोसाक, खाकी रंगको पाइन्ट र आकासे सर्ट हुन्थ्यो । बर्षको एकपटक सिलाइन्थ्यो, त्यो पोसाक । गौराको बेलामा । नयाँ लुगा भनेकै, त्यही । गाउँको सिरानमा काटछाट गरेर मिलाए जस्तो एकनासे सल्लेरी बन थियो । त्यसका बीच–बीचमा केही सालका सुलुत्त परेका बोट । सल्लेरी वन नाघेपछि भिरालो डाडामा विद्यालय टाढै टल्कन्थ्यो, मालिकार्जुन प्राबि तेलीगाउँ । साता अघिनै बगाले हेड सरले फर्मान जारी गर्नुहुन्थ्यो, ‘विद्यालय खुलेपछि सबै जना नयाँ ड्रेसमा आउनु ।’ अरु बेला भए हेडसरको फर्मानले आतंकित तुल्याउथ्यो । तर, त्यो गौराको छुट्टीको ‘बिशेष घोषणा सभा’ भने सबैका लागि सुरुची र प्रितिकर थियो । पहिला–पहिला हजुरबा गौराको नयाँ लुगा र अन्य खान्कीको ब्यवस्था गर्न झुलाघाट पुग्नुहुन्थ्यो । दार्चुला र बैतडीको यो भारतीय सीमा बजार आउजाउमै दुई दिन लागथ्यो । त्यहाँका ‘सेटजी’ हरुकोमा बर्षौदेखिको कारोबार सम्बन्ध थियो । जाँदा घयूका ग्यालिन बोकेर जाने र आउदा झोलामा नयाँ लुगा र मिस्रि तथा नरिवल जस्ता खानेकुरा लिएर आउनुहुन्थ्यो, उहाँ । तिनै चल्तिमा पनि थिए, त्यो बेला । हजुरबा गएको...