नियात्रा: आई लभ यु खप्तड

-ड़ा. बद्री चापागाईं, 
तराईमा मात्र ड्राइभिङ अनुभव भएको मलाई डडेल्धुरा जाने बाटो चुनौतीपूर्ण लागिरहेको थियो। योभन्दा घुमौरो सडक नेपालमा सायदै होलान्। अत्तरियाबाट एक बजेतिर हिँडेका हामी तीन बजे नै बुडर पुग्यौं। एक घन्टा भोक मारेरै साहुखर्क पुगियो।

गाडीबाट ओर्लनै लाग्दा 'बद्री दाइ होइन?' भन्दै कसैले सोध्यो। ट्वीटरको भर्चुअल दुनियाँका इन्जिनियर साप रचन्। धन्न सामाजिक सञ्जाल!

'ल बाजे खीर खाम,' उत्साहित हुँदै तीन प्लेट अर्डर गरेँ। 'खीर त सकिइसक्यो कि!' बाजेले सन्देह मिश्रित जवाफ दिए। सजिलै हिम्मत हार्नेवाला थिइनँ। डेक्ची हेरेँ। पिँधमा अलिअलि रै'छ। वरपर जमेको काँठो कोतर्ने हो भने हामी तीन भाइलाई पुगिहाल्थ्यो!
बाजेको नामै खीरबाजे। ४० वर्ष भो रे पसल खोलेको। जोरायल बासमती चामलको खीरमा काजु, किसमिस र नरिवलका टुक्राबाहेक चिरौंजी पनि हाल्छन् रे। खीर र कुराउनीबराबर जस्तो भएको एक एक प्लेट खाजा अमृत भयो।
'भोकालाई खीर' उखान यसै रचेका रहेनछन् बूढापाकाले। साढे पाँच बजे डडेल्धुरा पुगेर पहिलो दिनको यात्रा टुंग्याइयो। 
Khaptad National Park
Khaptad National Park (Cr: Kishore Khadka)

पौरखी पुष्कर
'म भएपछि हजुरहरूलाई के चिन्ता? डडेल्धुराबाट दिपायलसम्म एक जनाको १६० रुप्पे हो,' बोलेरो जीपका सहचालक भाइले आत्मविश्वास साथ भने। नाम सोधेँ। 'पुष्कर दमाई,' उनले छोटो उत्तर दिए।
'भाइ हामी केही मिलाएर पैसा दिन्छौं, तर यो सिटमा तीन जनामात्र बस्छौं है?' दिनेशले सोध्यो। 'भइहाल्छ नि,' उनले सहज पारामा भने। 'तेसो भए कति दिऊँ त?' मैले कुरा खार्न खोजेँ।
'पख्नुस् है, त्योचाहिँ गुरुजीलाई सोध्नपर्छ,' आफ्नो निर्णय क्षेत्रभन्दा बाहिर गएर उनले मुख फोरेनन्। 'मिलाएर दिनुस् न,' गुरुजीले नेपाली पारामा भने।
विचित्रको शब्द छ 'मिलाएर' भन्ने। पसल, होटल, पार्किङदेखि अदालत र राजनीतिसम्म 'मिलाएरै' गर्ने बानी छ हाम्रो। अन्त्यमा ५५० मा मिलाइयो दिपायलसम्मको यात्रा।
हाम्रा जीप, गाडीका सहचालक सर्कसका पात्रभन्दा कम सिपालु र साहसिला हुन्नन्। जीप चलेपछि पुष्कर त जीप बाहिरपट्टी फुट स्ट्यान्डमा टेकेर ढोका समातेर झुन्डिन थाले। नागबेली बाटोमा हुइँकिएको जीपको बाहिर झुन्डिनु जोखिमपूर्ण देखेर भित्र बोलायौं। तर 'भित्र बसेर हाम्रो काम चल्दैन सर' भनेर उनले कुराको बिट मारे।
'गुरुजी, चपाउने कुरो छैन?' पुष्करले ड्राइभरलाई सोधे। खिया लागेका दाँत देखेरै मलाई लागिसकेको थियो गुट्खाको कमाल हुनपर्छ भनेर।
संघर्षले मानिसलाई कति बलियो बनाउँदो रच भन्ने कुरा पुष्करका अनुहारका प्रत्येक भावमा झल्कन्थ्यो। हेर्दै कठोर, चाम्रो अनि दृढ। बेलाबेला झर्ने यात्रुसँग गरेको बार्गेन सुन्दा लाग्थ्यो, उनी अभ्यस्त भइसके बालुवा निचोरेर तेल निकाल्न।
करिब चार बजे दिपायल पुग्यौं। डडेल्धुराको लुगलुग कमाउने उत्ताउलो जाडोपछि दिपायलको नखरमाउलो गर्मी झेल्यौं। केही बेरमै अर्को बोलेरो चढेर सिलगढी उक्ल्यौं। फेरि त्यहाँबाट तीन हजार रुपैयाँमा अर्को बोलेरो रिजर्भ गरेर बगलेकतिर हान्नियौं। जीपले दसैंको रोटेपिङले भन्दा बढी झ्याँक्यो। गुरुजीको सिपसँग हुनुसम्म प्रभावित भएँ। त्यो बाटो हेर्दा उनको गाडी चलाइलाई भीरमा बाख्रा हिँडेसँग दाँजे पनि फरक नपर्ने। डेढ घन्टामा झिग्राना भन्ने ठाउँमा पुर्यााएर गुरुजीले एउटा होटल पनि देखाइदिए। त्यस दिनको बास त्यतै बस्ने भइयो।
केवल हामी तीन
छ नबज्दै कालो चियाको सुर्को लाएर बासबाट हिँड्यौं। विकट ठाउँमा बस्नेलाई केही राहत होला भनेर एक बोराजति औषधि लगेका थियौं। झिग्राना होटेलका बहिनीको यात्रा वर्णन सुन्दा नै त्यो बोरा बोकेर उकालो छिचोल्न नसक्ने निर्णय गरिसकेका थियौं। त्यसैले त्यही आर्मीको पोस्टका जमदार सापलाई रासन बोक्ने खच्चडसँगै बोरा माथि पठाइदिन भन्यौं।
यात्रा योजना अनायासै भएको थियो। दिनेश काठमाडौं, नवराज पोखरा र म नेपालगन्जमा कार्यरत भएकाले सबैको अनुकूल समय निकाल्न कठिन थियो। तर पनि वीर अस्पतालमा सँगै पढ्दादेखि हामी तीनै जनाको साझा रुचि घुम्ने भएकाले अप्ठ्यारा ट्रेक छिचोलिसकेका छौं।
जोसमा आधा घन्टाजति लमकलमक हिँडे पनि केही समयपछि सबै सुस्केरा हाल्न थालिसकेका थियौं। १० कक्षाको नेपालीमा पढ्नुपर्ने घनघस्याको उकालो यस्तै होला भन्ने अनुमान गर्यौं।। गुराँस, धुपी र अनगिन्ती अपरिचित बोट भएको घना जंगलबाट न हाम्रो गन्तव्य डाँडाको सिरान देखिन्थ्यो न आकाश। महिनौं स्थिर जीवनशैली बिताएका हामीलाई नाके उकालोले स्वाँस्वाँ पार्न थालिसकेका थिए। तर पनि 'हिँडे छेउ लाग्छ, बसे लेउ लाग्छ' भन्ने उक्ति सम्झँदै उक्लिरह्यौं।
प्रि–मनसुन सुरु भइसकेकाले डाँडाकाँडा बादलसँग लुकामारी खेलिरहेका थिए। बादल हट्दा डाँडाको टुप्पो देखेर अब त केही बेरमा त्यहाँ पुगेसी तेर्सो बाटो सुरु होला भनेर सुरुसुरुमा हामीले अपेक्षा गरे पनि त्यो ठाउँमा पुग्दा अगाडि अझ अजंगको चुचुरो गजधम्म देखिन्थ्यो। ससाना ओराला आउँदा अब त सकियो कि भनेर सोचे पनि तुरुन्तै तेर्पाएँ हुँदै फेरि उकालो नै आइपुग्थ्यो।
कोइली, न्याउली र चराचुरुंगीको चिरबिर आवाजबाहेक त्यो ठाउँ एकलास थियो। छ घन्टामा कसैलाई भेटेनौं। निगालोको घना झांगबाट भालु निस्कने हो कि भन्ने त्रास मनमा यदाकदा आए पनि एक–अर्कालाई ढाडस दिँदै 'नयाँ काटेको बाटो' पछ्याइरह्यौं।
भरखर गंगा दशहरा मेला सकिएकाले होला बाटोमा चकलेट, चाउचाउका खोल भेटिन्थे। सेनाले केही ठाउँमा 'फोहर मलाई' का डोका राखे तापनि पर्याप्त थिएनन्। 'ह्या यो जंगलै त हो, मैले एक–दुई खोल फाले के नै बिग्रिन्छ?' भन्ने नेपाली मानसिकताले त्यति स्निग्ध ठाउँ पनि मानवीय प्रदूषणले मन कटक्क खाने भइसकेछ।
करिब १२ बजे बीचपानी पुग्यौं। होटल खोल्न झिग्रानाकै एक व्यक्ति वार्डेनको आग्रहमा अघिल्लो दिन त्यहाँ पुगेका रचन्। त्यति टाढा र निर्जन ठाउँमा पनि राम्रै गुणस्तरको चामलको भात, मुसुरोको दाल निगालो टुसाको तरकारी अपेक्षाभन्दा गुणस्तरको थियो।
हामी त्यहाँ सुस्ताउँदै गर्दा झिग्रानाबाट सेनाको रासन बोकेको खच्चड टोली आइपुग्यो। उनीहरू खाना खाएर साढे आठ बजेतिर उक्लेका रे। खप्तड ब्यारेकबाट बिदामा सिलगढी र काठमाडौं हिँडेका केही आर्मी पनि त्यहीँ भेट भए।
पहाडी यात्रामा 'अब यो ठाउँ पुग्न कति लाग्ला?' भन्ने जस्तो अमूर्त प्रश्न सायदै होला। झिग्राना पोस्टमा त्यहाँदेखि खप्तडे यात्रा आठ घन्टा लेखिएको थियो। तर, प्रस्ट भइसकेको थियो— त्यो अनुमान हामीलाई भन्दा पनि त्यहाँका रैथाने, आर्मी वा रुखो हिँड्न सक्नेलाई थियो। त्यसैले बीचपानीदेखि खप्तड अरूलाई दुई घन्टा भए पनि हामी चार घन्टामा कसो नपुगौंला भनेर खानाले तंग्रेको ज्यानलाई फेरि चलायमान बनायौं।
यो खन्ड अघिको जस्तो नाके उकालो नभए पनि उकालो, ओरालो र सिधाबाटोको 'पर्फेक्ट ब्लेन्ड' थियो। उकालोले थकाउने, तेर्सोले राहत दिने र ओरालोले थप हिँड्न फकाउने रणनीति लिएजस्तो।
बाटोमा जुकाले दुःख दिन सक्छन् भन्ने सुनेका भए पनि बर्खा खासै सुरु नभइसकेको भएर त्यसबाट भने बाँचियो। नीरव तीन घन्टा जंगलयात्रा पश्चात् आवाज सुनियो। गाईबस्तुको घाँटीमा बाँधेको घन्टको आवाजजस्तो। मनमा आशाको नौलो सञ्चार भयो। आवाज मानव चहलपहल सुरु हुन लाग्यो र खप्तडका पाटन सुरु हुन लाग्यो भन्ने। केही बेरमै देखियो— बुकी दहको पाटन र त्यहाँ चरिरहेका गाईबस्तु। त्यो पाटन छिमलेर फेरि सानो उकालो उक्लेपछि खप्तडको विशाल पाटनमा प्रवेश गर्यौं ।
अहो कति विशाल! एक छिन सुस्तायौं। तर पनि हाम्रो बासस्थान कता हो नामोनिशान थिएन। बस्, निकुन्ज कार्यालय र आर्मी ब्यारेकयता भन्ने काठका फलेकमा लेखिएका संकेत पछ्याउनुको विकल्प थिएन।
उकालो र घना जंगलको बाटोले चुर बनाएका हामीलाई पाटनकै हिँडाइले पनि गाल्न थालिसकेको थियो। करिब एक घन्टा हिँडाइपछि टहरोमा केही मानिस भेटिए। उनीहरूलाई सोध्दा गेस्ट हाउस पुग्न केही समय लाग्ने पत्तो लाग्यो। आधा घन्टा लतारिएपछि हाम्रो गन्तव्य देखियो— आर्मी ब्यारेक र केही घर।
हामी झिसमिस रात पर्दा ब्यारेकको ढोकामा पुगेका थियौं। सेन्ट्रीसँग खबर पुर्याायौंं— नेपालगन्जबाट सरहरू आउनुभएको छ भनेर कमान्डरलाई जानकारी दिन। करिब १० मिनेट कुर्दा कुनै रेस्पोन्स नआएपछि हाम्रो खबर पुगेकै रै'नछ जस्तो लाग्यो। हामी फर्केर पारीको टहरातिर लाग्नै थालेका थियौं, भित्रबाट आदेश आयो, 'सरहरूलाई भित्रै ल्याउनू,' सेन्ट्रीको आर्मीले मुसुक्क हाँस्दै भने 'लौ अब ढुक्क हुनुस्। सबै व्यवस्था भित्रै हुनेछ।'
ओइलाएको सिस्नो जस्तो भएको ज्यानलाई कतै टेकाउनमात्र पनि पाए हुन्थ्यो भन्ने अवस्थामा पुगेका हामीलाई अफिसर मेसको वातावरण स्वर्गीय लाग्ने नै भयो। कुर्सीमा बस्न नपाउँदै भान्सेले तातो पानी, सुप ल्यादिँदा त्राण पाएझैं भो।
मेजर युवराज केसीको आतिथ्यताप्रति अनुग्रहित भयौं। उहाँले नै पर्यटनको गेस्ट हाउसमा सुत्न व्यवस्था मिलाइदिनुभएछ। जाडो होला भन्ने डर थियो, तर ज्यानै थिच्ने सिरक पाएपछि खुट्टा तात्न नपाउँदै निदाइएछ।

Khaptad patan
Khaptad National Park (Cr: Dr Badri Chapagain)

खप्तड विहार 


झ्यालको चरबाट छिरेको घामको किरणले जानकारी दिइसकेको थियो, आज प्रकृति दाहिना भएकी छिन्। हिजोको हिँडाइले पिडौंलामा कैंडा लागेको भए पनि बाहिरको छटाले थकान निमेषभरमै गायब भयो। टहलिँदै ब्यारेकसम्म पुगेर मेडिकल टिमलाई प्राथमिक उपचारका औषधि र तिनको प्रयोगबारे जानकारी दिएपश्चात् जिम्मेवारीबाट मुक्त भयौं। त्यहीँको मेसमा ब्रेकफास्टपछि मेजर सापसँग घुम्नुपर्ने ठाउँहरूको आइडिया लियौं।

उहाँले एक जना गाइड प्रस्ताव पनि गर्नुभएको थियो, तर अरूको समयमा बाँधिएर हिँड्नुभन्दा स्वच्छन्द तरिकाले विचरण गर्न चाहन्थ्यौं। खप्तडको मादकताको रसस्वादन गर्न चाहन्थ्यौं। हरिया पाटनको स्वर्गीय दृश्य नअघाउन्जेल क्यामेरा र मानसपटलमा कैद गर्न चाहन्थ्यौं। मौसम ठेगान नहुने आशय हामीले पाइसकेको हुँदा तीन वटा छाता लिएर लाग्यौं खप्तड दहतिर।
पाटनको हरियो घाँसमा गाईभैंसी चरिरहेका थिए। घोडाका बथान हुरुरु कहिले कता कहिले कता कुदिरहेका थिए। स्वतन्त्रता र रसिलो घाँसले सबै डिंगा पुटुस्स मोटाएका देखिन्थे। घाम र बादलको लुकामारीले छिनमै मौसम धुम्म हुन्थ्यो भने छिनमै टट्टाउने घाम लाग्थ्यो।
वार्डेन प्रयास केसीका अनुसार खप्तडमा ५६७ प्रकारका बोटबिरुवा र २३ प्रजातिका जीवजन्तु पाइन्छन। पाँचऔंले, सतुवाजस्ता जडिबुटी र हिउँ चितुवा, कस्तुरी मृगजस्ता दुर्लभ जनावर यहाँका विशेषता हुन्। खस्रे भ्यागुतो र बझाँगी पाहा यहाँका रैथाने प्रजाति हुन्। बाटोको पहरामा सजिलै देखिने अबरख (माइका) हेर्दा यहाँ खनिजको सम्भावना पनि प्रचुर होला।
खापर त्यो भेगका धेरैका कुलदेउता रहेछन्। अछाम, डोटी, बझाङ र बाजुराको सिमामा पर्ने खप्तडमा चार वटै जिल्लाका मानिस बर्खामा गाईबस्तु लिएर गोठ बनाएर बस्दा रहेछन्।
निकुन्जलाई गाइबस्तु लगेबापत केही दस्तुर तिर्नुपर्दो रहेछ। नयाँ गोठ बनाउनु परे काठका लागि छुट्टै हजार रुपैयाँ नत्र २५० को न्युनतम दस्तुर। त्यहाँका गोठ, घोडा र अन्य गाईबस्तु देख्दा निकुन्जले पनि राम्रै राजस्व उठाउन सक्ने देखिन्थ्यो। तर, पर्यटकलाई सुविधा दिने पूर्वाधारमा ध्यान दिएको पाइएन।
खप्तड दह नजिकै खप्तड पाटन रहेछ। जम्मा २२ पाटन भए पनि यो पाटनको नामै खप्तड पाटन। पाटनको विशेषता के भने एउटा ठाउँबाट देखिने दृश्य एकथरी भए पनि सोही मैदानलाई पारिपट्टि गएर हेर्दा पूरै पृथक्।
मोबाइल, इमेल, इन्टरनेटबाट टाढा भएर सांसारिक र व्यावसायिक झमेलाबाट मुक्त भएर आफैंलाई उत्खनन गर्न यो ठाउँ स्वर्ग नै रहेछ।
त्यहाँबाट फर्केर केदार ढुंगा हुँदै त्रिवेणी धाम पुग्यौं। खाना खाने समय भइसकेको थियो, तर गेस्ट हाउसमा पुगेर घुमाइमा बिराम लाउनुसट्टा खप्तड बाबाको आश्रमतिर उक्लियौं।
खप्तड बाबा प्रायः हामी सबैका लागि रहस्य हुनुहुन्छ। धेरैपटक नाउँ सुनेको तर उहाँ एक आध्यात्मिक गुरु हुनुहुन्थ्यो भन्नेबाहेक खासै धेरै जानकारी नभएको। हाम्रो आशाविपरीत पाटनमा भेटिएका बूढाबूढीसँग पनि हामीलाई थाहा भएको बाहेक खासै जानकारी रहेनछ।
हामी आश्रम पुग्दा दुई जना सेनाका जवान पहरा दिइरहेका थिए। पहाडको थुम्कोमा ढुंगाले छाएको ठाँटी घर, अगाडि सानो करेसाबारी बनाउन मिल्ने जग्गा, खुला आकाश र सिरसिर चल्ने बतास। ज्ञान र भक्ति साधनामा लीन हुने योगीको निम्ति तपोभूमि।
सेनालाई आग्रह गरेर हामीले उहाँका कोठा, उहाँले प्रयोग गर्ने कपडा, विभिन्न जन्तुका छालाबाट बनेका आसन पनि अवलोकन गर्यौंम। तर जवानहरूलाई उहाँको बारेमा खासै जानकारी रहेनछ। संयोगवश त्यति नै बेला मेजरसाप पनि पाहुना घुमाउन त्यतै आइपुग्नु भो। उहाँबाट केही जानकारी पाइयो।
हुन त जोगी, योगी, सन्त, महात्माहरुको घर हुँदैन, देश हुँदैन भन्छन्। उहाँ कश्मिरी मूलको भएको थाहा पाउँदा अचम्मित भयौं। विसं १९३७ मा कश्मिरको नेहरु परिवारमा जन्मनुभएका बाबा विसं १९८६ मा नेपाल आउनुभएछ। उहाँको मृत्यु २०५३ सालमा भएको रहेछ। पेसाले चिकित्सक उहाँले भारत र नेपालका धेरै मठमन्दिर भ्रमणपश्चात् आध्यात्मिक ज्ञान खोजीका लागि खप्तड रोज्नुभएछ। उहाँको तत्कालीन राजपरिवारसँग राम्रो सम्बन्ध रहेको र बझाँगी राजाले आश्रम बनाइदिएको सुन्न पाइयो। राजा वीरेन्द्र उहाँसँग सत्संगका निम्ति बेलाबेला गइराख्ने कुरा पनि सुनियो। त्यसैले होला, खप्तड इलाकाभरि मुख्यमुख्य ठाउँमा हेलिप्याड थिए। बाबाकै कुटी नजिक राजाको विश्रामस्थल रहेछ।
बाबाले असाध्य रोग उपचार गरेको, चितुवाको खुट्टाको घाउको मल्हमपट्टी गरेका जस्ता जनश्रुति सुन्न पाइयो। दन्त्यकथाझंै लागे पनि उहाँको कोठामा भएका एलोप्याथिक औषधि हेर्दा उहाँले त्यस भेगका मानिसको स्वास्थ्यमा योगदान दिएको प्रमाणित हुन्थ्यो।
करिब ३,१५० मिटरमा रहेको आश्रमबाट ३,०५० मिटरमा रहेको ब्यारेक झरेर पारिपट्टिको डाँडामा ३,२६८ मिटर उचाइमा रहेको सहश्रलिंगेश्वरमा जाने दुस्साहस गर्न सकेनौं। सतही हिसाबमा ११६ वर्ष बाँचेका देखिने खप्तड बाबा कसरी त्यहाँ बस्थे होलान् र उनका बारेका भनाइ कति सत्य होलान् भन्ने गम्दै त्यस दिनको यात्रा टुंग्याइयो।
बझाङतिर पाइला
गएकै बाटो फर्कन मन थिएन। मेजरसापबाट थाहा भो, खप्तडबाट बझाङ पनि निस्कन मिल्दो रहेछ। ओरालो हिँड्नपर्ने हुँदा उहाँलाई नै तीन वटा लठ्ठी व्यवस्था गरिदिन भन्यांै।
मेजरसापबाट थाहा भयो, २०४३ सालमा यो निकुन्ज बनेपछि त्यहाँ पुगेका विदेशी पर्यटकको संख्या जम्मा ६१९ रहेछ। स्थापनाको ३० वर्षमा यो संख्याबाट हिसाब गर्दा वार्षिक औसत २० जना। कति टीठलाग्दो छ है हाम्रो पर्यटन प्रवर्द्धन?
झुल्के घामसँगै बझाङतिरको बाटो सोझायौं। तमैल भन्ने मोटरबाटो छुने ठाउँ त्यस दिनको हाम्रो गन्तव्य। केही बेरमै पुगियो घोडादाउन्ना (घोडा दाउने पाटन)। यो नै सबैभन्दा ठूलो पाटन!
त्यहाँबाट गिर्गिरे ओरालो सुरु भयो। बरु उकालोमा स्वाँस्वाँ भएर गाह्रो हुने हो, तर ओरालोमा ज्यानलाई धान्न तिघ्रा र घुँडामा राम्रै बल पर्ने। धन्न हामीले लठ्ठी जोहो गरेका थियौं।
लोखडामा आर्मीको अर्को पोस्ट रहेछ। मानिस त्यहाँसम्म एक घन्टामा पुगिन्छ भन्थे, हामीलाई तीन घन्टा लागिसकेको थियो। स्पष्ट थियो— ओरालो पनि त्यति सजिलो थिएन।
त्यहीँबाट बस्ती सुरु भयो। झिग्रानाको बाटोजस्तो यो रुट निर्जन थिएन। गहुँ काट्ने सिजन भएकाले मानिस लेकाली गहुँका भारी लिएर बेसी ओर्लिरहेका थिए। बाटो कटाउने मेसो, गहुँको थुन्से बोकेका सुशील रावल भन्ने भाइसँग दोस्ती गरियो। उनले लिएका नाम सुन्दा तमैल पुग्न धेरै ठाउँ र बस्ती छिचोल्नुपर्ने बुझियो।
करिब एक घन्टा तल मेलतडी भन्ने ठाउँमा एउटा होटल रहेछ। खानाको अर्डर दिएर आराम गर्न चोटामा उक्लियौं। केही युवा बिन्दास तास खेल्दै थिए। उनीहरूको अन्तरक्रिया, खुट्टा तनाइ र उडाउने बानी आरिस लाग्दो थियो। त्यो निस्पि्कक्रीपना हेर्दा लाग्थ्यो— उनीहरू भविष्यप्रति किञ्चित पनि चिन्तित छैनन्। सबैको एउटै धारणा थियो— केही महिनापछि खाडी अथवा मलेसिया जाने। प्रायःले एसएलसीसम्म पढेका थिए।
चोटामा गफ गरिरहेका मध्ये एक थिए, ताम्राकार थरका भाँडा व्यापारी। उनलाई भेट्दा बाल्यकालमा गाउँमा आउने बाँडाहरूको सम्झना ताजा भयो। नेपालको पश्चिम र मध्यपश्चिमका प्रायः सबै गाउँ डुलेका उनलाई मुखाग्र 'एटलस' भन्दा पनि फरक नपर्ने। जुम्ला र मुगुका गाउँका बारेमा केही सोधेर उनको भनाइ पुष्टि गर्न खोजेँ— अहो उनले त बस्तीबस्ती चाहारेका रै'छन्।
खाना खाएर हिँड्दा करिब डेढ बजिसकेको थियो। ठाउँठाउँमा रोपाइँ सुरु भइसकेको थियो। बाटोमा भेटिने केटाकेटी, गोठाला र अन्य यात्रीहरूसँग गफगाफ बाटो काट्ने माध्यम भएको भयो।
सदरमुकाम चैनपुरबाट लख्रक्कै एक दिन पैदल दुरीमा पर्ने माझीगाउँको सम्पन्नता नेपालका प्रायः गाउँको भन्दा उँचो थियो। माइक्रो हाइड्रोको बिजुली, सिँचाइका लागि यथेष्ट ठाडा खोला र पक्की कुला। कलात्मक रूपले ढुंगाले छाइएका ठाँटी घर, छानामा भएका डिसहोमका छाता र हृस्टपुष्ट बालबालिका यो ठाउँ कर्णाली र सुदूरपश्चिमका अन्य भागभन्दा समुन्नत रहेछ।
मेलतडीको होटलमा युवा चुरोटमा केही भरेर तानिरहेका थिए। चरेस पो रहेछ। त्यो दृश्यले सामाजिक स्वीकृति दर्शाउँथ्यो। पछि हामीले बाटोमा पनि देख्यौं, खेतमा बाक्लै गरी उम्रेका गाँजाका बोट। बाटोमा भेटिने बच्चा दुई हात मिचिरहेका हुन्थे। कति बज्यै र नानीका आमा पनि बारीमा घुँडा टेकेर हातमा गाँजाका पात मिचिरहेका हुन्थे। दोकानमा आउने बच्चाले चुइङ्गम, चाउचाउ किनेपछि पैसाभन्दा पनि सुन्तलाका केस्राजस्ता अत्तरका लुँडा दिँदा रहेछन्।
बुझ्दै जाँदा थाहा भयो— यो त यहाँको अर्थतन्त्रको एउटा खम्बा नै रहेछ। गाउँमा बनाइएका लुँडा स्थानीय व्यापारीमार्फत ठूला संकलकले देश–विदेश पुर्यातउँदा रहेछन्।
मेजरसापको सौजन्यबाट पाएका लठ्ठी हामीलाई ओरालो हिँड्दा ठूलो सहारा भएका थिए। एक ठाउँमा पानी खान रोकिँदा थकाइको सुरमा लठ्ठी छुटेछ। १५ मिनेट हिँडेपछि चाल पाइयो। अप्ठेरो ओरालो झरिसकेका थियौं र लठ्ठी नभए पनि अब हिँड्न सकिन्छ जस्तो लागेको थियो, तर 'खोलो तर्योल, लौरो बिर्स्यो नहोस्' भनेर त्यो लठ्ठी छाड्न मन थिएन। फर्केर जाँदा पनि खासै टाढा थिएन, तर हाम्रो भाग्य दुई जना बच्चा ठ्याक्कै भेटिए। उनीहरूलाई पैसा दिऊँला भनेको हामी एक छिन सुस्ताउन नपाउँदै लट्ठी ल्याइदिए।
चार बजेतिर एक ठाउँमा माछा खान रोकियो। माछाको स्वादमा भुल्दा फेरि त्यहाँ क्यामेराको झोला छुटेछ। यहाँ पनि करिब ४५ मिनेट तल पुगेर बल्ल सम्भि्कइयो। धन्न यहाँ पनि खेतमा काम गरिरहेका भाइलाई अनुरोध गरेको आधा घन्टामै ल्याइदिए।
खाना खाएको ठाउँ मेलतडीमै हामीलाई स्थानीयले तमैलसम्म दुई घन्टाको बाटो भनेका थिए। हामीले त्यसको दुई गुना समय लाग्ला भन्ने आशा गरेका थियौं, तर सात बजेसम्म पनि मोटरबाटोको स्टेसन तमैलको कुनै छनक थिएन। गडतीरै गडतीर हिँड्दा पारिपट्टि डाँडाको टर्निङपछि तमेल देखिएला भन्ने आशामा नवराज र दिनेश दुवैका खुट्टामा फोका निस्किसकेका थिए। तमेल नपुगी हाम्रो त्यो दिनको यात्रा टुंगिदैनथ्यो। अन्त्यमा एउटा डाँडोको फेरो कटेपछि पक्की सडक देखियो। झमक्क साँझ पर्दा करिब आठ बजेको हुँदो हो, हामी तमैल पुग्यौ। हाम्रो खप्तड यात्रा टुंगियो तर मनमा भने कैयौं प्रश्न बर्सिन थाले।
—यस्ता भर्जिन गन्तव्यमा मोटरबाटोबाट जोडेर सुगम बनाइहाल्ने कि पूर्वाधार विकास गरेर ट्रेकिङ रुट नै कायम गर्ने?
—डोटीदेखि खप्तडसम्म केबुलकार बनाउने योजना पनि चलेको रहेछ, कता पुग्यो होला त्यसको कार्यान्वयन?
—भूकम्पले अन्यत्र पर्यटक पुग्न संकोच मानिरहेको अवस्थामा सुदूरपश्चिमका यस्ता रुट प्रवर्द्धन अहिले नगरे कहिले गर्ने?
—निकुन्ज कार्यालय, पर्यटन बोर्ड र खप्तड क्षेत्र विकास समिति यसको प्रवर्द्धन निम्ति खोलिएका भए पनि सेनाबाहेक त्यहाँ इमानदारीसाथ खटिने कोही रहेनछन्।
Twitter - @iMaanthaa

Popular posts from this blog

Tikapur Park

Gaura festival

धामीझाँक्री, हाम्रो समाज र हामी