जुम्ली ठिटोको स्याउ सपना

जुम्लाबाट तीन दिन लगाएर काठमाडौं ल्याइएको अर्ग्यानिक स्याउ बेचिरहेको ठिटोलाई अरुसँग बोल्ने उतिसारो फुर्सद छैन। काठमाडौंको रामशाहपथस्थित नेशनल ट्रेडिङको बिक्री कक्षको गेटै अगाडि स्याउ बेचिरहेका भेटिन्छन् उनी।जुम्लाबाट राजधानी ल्याएको स्याउ कागजको बाकसमा राखेर किलोका किलो बेचिरहेका छन् यी ठिटा। साथमा सहयोग गर्न केही मानिस पनि छन्। जुम्लाबाट ल्याएको अर्ग्यानिक स्याउ लैजानुस्, विश्वास नलागे चाख्नुस्भन्दै ग्राहकलार्इ विश्वास दिलाउँछन्। शंका गर्नेलाई केही टुक्रा चखाउँछन् पनि।'पहिलो पटक आउने ग्राहकले नेपाली रहेछ किन्दिउँ न त भनेर किन्छन्,' स्याउ बेच्दै गरेका जुम्लाका दिनेश खड्का भन्छन्, 'एक पटक खाएपछि फेरि चाहियो भन्दै फर्कने ग्राहक धेरै छन्।'  

जुम्लाका २० वर्षे ठिटा दिनेश ललितपुरको नमुना मच्छिन्द्र कलेजमा कक्षा १२ मा पढ्दैछन्। व्यवस्थापन संकाय पढ्दै गरेका उनलाई जागिरको मोह कहिल्यै लागेन। उनका बाबु स्याउ तथा यार्सागुम्बाको व्यापार गर्दै आएका छन्। 'जुम्लाबाट स्याउ ल्याएको छु,' उनी भन्छन्, 'यहाँ चार जना स्टाफ पनि छन्। उनीहरु र म मिलेर काम गरिरहेका छौं।' व्यापारी बाबुका छोरा दिनेशलाई पनि बाबुकै बिँडो थाम्ने रहर छ।

उनी जुम्लाबाट ल्याएको स्याउ एक सय २० रुपैयाँ प्रतिकिलोमा बेच्छन्। असोज ८ गतेबाट काठमाडौंमा स्याउ बेच्न थालेका दिनेशले अहिलेसम्म झण्डै तीनहजार किलोभन्दा बढी जुम्लाको अर्ग्यानिक स्याउ बेचिसकेका छन्। उनी भन्छन्, 'सात हजार केजी ल्याको थें, एक हजार केजी त बिग्रिएरै सकियो, बाँकी ६ हजार केजी स्याउ बेचिरहेका छौं।'

स्याउ सपना

तिहार अगाडि कात्तिकको ५ गतेसम्म स्याउ बेच्ने उनले बताए। उनी दैनिक तीन/चारसय किलो स्याउ बेच्छन्। अहिले स्याउ बेच्ने काम मात्र गरे पनि यसैमा उनले भविष्य देखेका छन्, स्याउसँग उनले सपना जोड्न थालेका छन्।

'मेरो बुबा पनि सानोतिनो बिजनेसम्यान नै हो,' दिनेश भन्छन्, 'मलाई पनि सानैदेखि एउटा बिजनेसम्यान बन्ने रहर थियो र अहिलेदेखि नै सुरु गर्दैछु।' आफूलाई जागिर खाने भन्दा व्यापार गर्ने चाहना धेरै भएकाले अहिलेदेखि नै सुरु गरेको बताउँछन् उनी। 'म अहिले २० वर्षको भएँ, यो उमेरमा बिजनेश गर्ने मान्छे धेरै कम हुन्छन् जस्तो मलाई लाग्छ,' उनी भन्छन्, 'म जुम्लाका उत्पादन त्यहाँबाट बाहिर ल्याएर जुम्लालाई चिनाउन चाहन्छु।'  
वाइन फ्याक्ट्रीदेखि विदेश सप्लाइसम्मको लक्ष्य
दिनेशका बाबु नेपालगञ्ज, सुर्खेतलगायतका स्थानमा स्याउको व्यापार गर्थे। उनले बाबुलाई सहयोग गर्ने सिलसिलामा व्यापार बढाउँदै राजधानीसम्म ल्याइपुर्‍याएका हुन्। तर उनको लक्ष्य यतिमै सीमित छैन।
उनको लक्ष्य जुम्लाको स्याउ काठमाडौं ल्याएर वाइन बनाउने सम्मको छ। 'हामीले वाइन फ्याक्ट्री चलाउन काम अघि बढाइसकेका छौं,' उनी भन्छन्, 'जुम्लाको अर्ग्यानिक स्याउको वाइन विदेशसम्म पुर्‍याउने लक्ष्य छ।'
अर्को वर्षबाट जुम्लाको स्याउ बंगलादेश पठाउने तयारी स्वरुप काम गरिरहेको उनले बताए। उनी काठमाडौंको वानेश्वरमा कम्पनी खोल्ने तयारीमा छन्। उनलाई अरु चार जनाले यसमा साथ दिएका छन्। 'मलाई अरु चार जनाले ५० लाख रुपैयाँका दरले लगानी गर्छौं भनेका छन्,' दिनेशले भने, 'सबै मिलेर करिब दुई करोड रुपैयाँ लगानीमा कम्पनी खोल्ने तयारी छ।'  
सजिलो छैन स्याउ यात्रा
जुम्लाबाट सुर्खेत, नेपालगञ्ज हुँदै तीन दिन लगाएर स्याउ काठमाडौं आइपुग्छ। तीन ठाउँमा बास बस्दै आउने एउटा स्याउले गाडी पनि तीनवटै चढ्छ। 'जुम्लाबाट एउटा गाडीमा सुर्खेतसम्म र सुर्खेतबाट अर्को गाडीमा नेपालगञ्जसम्म ल्याउँदा नै दुईवटा गाडी चेन्ज हुन्छ,' खड्का भन्छन्, 'नेपालगञ्जबाट काठमाडौं ल्याउन फेरि अर्को ट्रक चाहिन्छ।'

जुम्लाबाट नेपालगञ्जसम्म साना गाडीमा र त्यसपछि ठुलो गाडीमा स्याउ काठमाडौं ल्याउने गरेको उनले बताए। जुम्लाबाट सिधै एउटै गाडीमा काठमाडौं ल्याउन नसक्ने भएकाले 'गाडीमा लोड अनलोड' गर्दा स्याउ ठोक्किएर दाग लाग्ने गरेको उनले गुनासो गरे। दाग लागेको स्याउ बिक्री हुँदैन। 'गाडीमा राख्दा र झार्दा स्याउमा दाग लाग्छ,' उनी भन्छन्, 'मान्छेहरु त्यसलाई कुहिएको ठान्छन्, हाम्रो अर्ग्यानिक स्याउमा दाग लागेको देखिए पनि भित्र केही भएको हुँदैन।'  
आकर्षक नदेखिँदा बेच्न गाह्रो
जुम्लाबाट काठमाडौं ल्याइएको अर्ग्यानिक स्याउको रंग काठमाडौंको बजारमा पाइने अरु स्याउ जस्तो रातो हुँदैन। थोरै रातो र केही फिक्का जस्तो देखिने यो स्याउ हेर्दा आकर्षक नहुने भएकाले मानिसहरुले झट्ट हेर्ने बित्तिकै किन्न हच्किने गरेको अनुभव छ उनको। उनले भने, ‘काठडौंमा मान्छे हेर्दा आकर्षक जस्तो देखिने रातो स्याउ खाइरहेका छन्। हाम्रो स्याउ त्यति आकर्षक त देखिँदैन तर खाँदा मात्रै मिठो हुने भएकाले मान्छेहरु खाएपछि मात्रै स्याउ लिन आउँछन्।'

एकपटक जुम्ली स्याउ खाएपछि मान्छे नियमित उनकोमा स्याउ किन्न आउँछन् भन्छन् उनी। उनको अनुभवमा हेर्दा फिक्का भएपनि रसिलो भएकाले जुम्ली स्याउ अरुको तुलनामा गुणस्तरीय हुन्छ। काठमाडौंमा रातो चिनियाँ स्याउ खाने बानी परेकाले हेर्ने बित्तिकै जुम्ली स्याउ मन नपराउने र खाएपछि मात्रै मनपराउने गरेको उनले बताए। 

व्यापार गर्न गाह्रो
काठमाडौंसम्म जुम्ली स्याउ दिनेश र उनका बाबुलगायतले किसानको बारीबाटै टिपेर ल्याउँछन्। किसानको बारीदेखि काठमाडौंसम्म स्याउ ल्याउँदा धेरै फाइदा नहुने उनको अनुभव छ। 'हामीले किसानलाई नै ३० देखि ४० रुपैयाँसम्म दिन्छौं,' उनले भने, 'तीनवटा गाडी भाडा नै एक केजीको भण्डै ४० रुपैयाँ जान्छ, त्यसमाथि पनि कोल्डस्टोरको भाडा पनि तिर्नु परिहाल्यो।'
काठमाडौंसम्म स्याउ ल्याउँदा धेरै दु:ख गर्नुपरेको उनको अनुभव छ। 'ट्राफिकसँग समेत धेरै कुरा मिलाउनु पर्ने, व्यवसाय गर्न गाह्रो हुने रहेछ,' उनले भने, 'ग्राहकको विश्वास जितेर बेच्नु पर्छ।' सुरुमा त कालीमाटीमा लगियो, मान्छेले किनेनन्, ६०/६५ मा दिँदा पनि नबिकेपछि यहाँ आएर व्यापार गरिरहेको छु' उनले अनुभव सुनाए।
उनले आफ्ना समस्या नेशनल ट्रेडिङ र कृषि मन्त्रालयमा राखेपछि मात्र सुपथ मूल्य पसल भएका स्थानमा कारोबार गर्न दिइएको थियो। दिनेशले भाडाबापत साल्ट ट्रेडिङलाई प्रतिकिलो दुई रुपैयाँ तिर्ने गरेका छन्।  
काठमाडौंकालाई रातो चाहिने सुर्खेतकालाई सस्तो
अहिले उपभोक्ताको छनौट र चाहनालाई पनि उनले बुझ्न थालेका छन् उनी। 'काठमाडौं र सुर्खेत नेपालगञ्जको माग नै फरक खालको छ,' उनी भन्छन्, 'काठमाडौंका मान्छेलाई रातो स्याउ चाहिने रहेछ उता सस्तो खोज्थे।' सुर्खेतमा मान्छेहरुले एकमुष्ट रुपमा स्याउ किने पनि काठमाडौंमा भने त्यस्तो नभएको उनको अनुभव छ। 'जुम्लामा ३५ रुपैयाँ परेको स्याउ मैले कालीमाटीमा ६० रुपैयाँमा बेच्न खोज्दा पनि बिकेन,' उनले सुनाए, 'अर्ग्यानिक स्याउमा रंग हुँदैन भन्ने कुरा यहाँका मान्छेले थाहा पाएनन्।'


उनले अहिले जुम्लाबाटै ल्याइएको आलु, सिमी र दालको पनि व्यापार गरिरहेका छन्। 

 (हामीले यो सामग्री 'सबिन मिश्र/पहिलोपोस्ट' बाट लिएका गरेका हौँ) 

Comments

Popular posts from this blog

Bajhang District

Godawari: Destination for peace and picnic

Tikapur Park