बडिमालिका तिर्थयात्रा सुरु

बाजुरा, - प्रसिद्ध धार्मिक स्थल बडीमालिका तीर्थयात्रा बिहीबारदेखि विधिवत् सुरु भएको छ । बाजुराको बडीमालिका मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजाआजा हुने गर्छ ।  
बडीमालिकामा बुधबार मूलपूजा गर्न मेला लाग्दैछ । जिल्लाभित्र र बाहिरका तीर्थयात्री तथा पर्यटकहरू, यहाँस्थित सरकारी कार्यालय र स्थानीय पर्यटकसहित भक्तजन परम्परा अनुसार बिहीबार बडीमालिका प्रस्थान गरेका छन् । औपचारिक पूजाआजाको परम्परा अनुसार छिमेकी जिल्लाहरू अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी पूजा टोलीसहितका तीर्थयात्री यसअघि नै बडीमालिका प्रस्थान गरिसकेका छन् । पूजाका लागि डोटीको टोली प्रस्थान गरेको दिन त्यहाँका सरकारी कार्यालयमा बिदा दिने प्रचलन अहिले पनि कायमै छ । अछामको वैद्यनाथबाट समेत त्यस क्षेत्रमा फलेको धानको बाला बडीमालिकामा चढाउने परम्परा अनुसार एक टोली १० दिनअघि प्रस्थान गरिसकेको छ । बाजुराबाट बडीमालिका पुग्न तोकिएका स्थानहरूमा बसेर तीन दिन लगाउनैपर्ने परम्परा छ । सोही मान्यता अनुसार जिल्लाभित्रका तीर्थयात्री त्यसतर्फ हिंडेका हुन् । 



कैलाशमाण्डौ गाविसमा पर्ने बडीमालिकाको विशिष्ट धार्मिक तथा पर्यटकीय महत्व छ । मागेको वरदान पूरा हुन्छ भन्ने विश्वासले बडीमालिकाको धार्मिक महिमा बढाएको भक्तजन बताउ“छन् । स्कन्दपुराणमा उल्लेख भएअनुसार मल्लागिरी पर्वतमा सतीदेवीको बाया“ अंग पतन भएको थियो । यसै स्थानमा मालिकादेवी उत्पन्न भएकाले बडीमालिका एक प्रमुख शक्तिपीठका रूपमा स्थापित भएको हो । 
मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरताले बडीमालिकाको महत्व अझ बढाएको छ । त्यस क्षेत्रको अवलोकन गर्ने उद्देश्यले आन्तरिक तथा वाह्य पर्यटक यसैबेला बडीमालिका पुग्ने गर्छन् । २२ पाटन, त्रिवेणी र खेतीबेती बडीमालिकाका मुख्य आकर्षण हुन् । करिब १४ हजार फिट उचाइका समथर हरिया फाँट र  ती फाँटमा फुलेका दर्जनौं प्रजातिका फूलको रमणीयताले बडीमालिका प्रकृतिको अनुपम उपहार अनुभव हुने त्यहाँ पुगेकाहरू बताउँछन् । बडीमालिका यात्रा गरिसकेका जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद पोखरेल भन्छन्, ‘बडीमालिका प्रकृतिको दुर्लभ उपहार हो । त्यहाँ पुगेपछि जीवनका सारा कष्ट हराएको अनुभूति हुन्छ ।’

    [अर्जुन शाहले कान्तिपुर दैनिकका निम्ति लेख्नु भएको यो जानकारी हामीले सबैका निम्ति साभार गरेका छौं ]

Comments

Post a Comment

Popular posts from this blog

Tikapur Park

Gaura festival

धामीझाँक्री, हाम्रो समाज र हामी