शुक्लाफाँटाको आकर्षण : कृष्णसारको बासस्थान

-चित्रांग थापा, महेन्द्रगर
बाह्रसिंगाको बिशाल झूण्ड अनि लोपोन्मुख पाटेबाघको बासस्थानका कारण क्षेत्रफलमा सानो आकारको भएपनि छुट्टै पहिचान बनाएको शुक्ला फाटा आरक्षमा अव नौलो आकर्षण थपिएकोछ । कृष्णसारको प्रजाति जोगाउन र संख्या बिस्तार गर्न आरक्षको हिरापुर फाँटामा नेपालगञ्ज नगरपालिकाको मिनि चिडियाखाना र जावलाखेलको सदर चिडियखाना बाट दुई दर्जन बढि कृष्णसार स्थानान्तरण गरिएपछि आरक्षको आकर्षण बढेकोहो ।
पूर्व पश्चिम राजमार्गको अत्तरिया-महेन्द्नगर सडकखण्ड अन्तर्गत झलारी गाविसको उत्तर चुरेफेदीको हिरापुर फाँटा कृष्णसारको नया बासस्थान बन्न पुगेको हो । आरक्षको बिस्तारित क्षेत्रमा पर्ने हिरापुर फाटा अर्जुनी पोष्ट बाट ३ किलोमिटर दुरीमा रहेकोछ । 'चार दशक अघि हालको शुक्ला फाटा आरक्षको संरक्षित क्षेत्रमा कृष्णसार थिया, बिस्तारै लोप भयो' आरक्षका मुख्य संरक्षण अधिकृत युवराज रेग्मीले भने, 'हाल बर्दियाको खैरापुरमा मात्र संरक्षित कृष्णसारको प्रजातिलाइ जोगाएर संख्या बृध्दि गर्न हिरापुरमा स्थानान्तरण गरिएकोहो ।

गत भदौमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको योजना अनुसार अमेरिकी सहयोग नियोगको सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति कोषको प्राविधिक व्यवस्थापनमा नेपालगञ्जको मिनि चिडियाखाना र जावलाखेल बाट २८ वटा कृष्णसार हिरापुरमा स्थानान्तरण गरिएकोहो । '२२ वटा नेपालगञ्ज बाट र ६ जावलाखेल बाट ल्याइएको हो' रेग्मीले बताए । हालसम्म स्थानान्तरण गरिएका कृष्णसारलाइ साढे ७ हेक्टर क्षेत्रमा सौर्य तारवार गरि संरक्षण गरिएकोछ । 'स्थानान्तरण गर्ने क्रममा १ र अन्य ३ समेत ४ कृष्णसारको मृत्यु भएको थियो' रेग्मीले भने, 'तर ४ को मृत्यु भएपनि यतिवेला ७ बच्चा जन्मे पछि संख्या बढेर ३१ पुगेकोछ ।

'हालको बासस्थान बिस्तार गर्ने काम भइरहेकोछ' प्रमुख संरक्षण अधिकृत रेग्मीले भने, 'थप ५ हेक्टर
क्षेत्रफल विस्तार गरि बर्दियाको खैरापुरबाट ६ देखि १० को संख्यामा कृष्णसार जेठ भिर्त्रै स्थानान्तरण गर्ने योजना छ ।' कृष्णसारलाइ स्थानान्तरण गर्नु पनि त्यति सजिलो भने छैन । 'प्रतेकलाइ समातेर उनीहरुको उचाइ र साइज अनुसारको काठको बाकसमा राखेर गाडीमा राखि नौलो बासस्थानमा पुर्याउनु पर्ने हुन्छ ।
कृष्णसारको स्थानान्तरण संगै हिरापुर फाटाको मध्यवर्ती क्षेत्रमा पर्यटन प्रवध्र्दनको कार्यक्रम पनि सुरु हुन थालेको राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुरका प्रमुख हेमन्त यादवले जानकारी दिए । 'कृष्णसार अवलोकन गर्न आउनेहरुका लागि मध्यवर्ती क्षेत्रका गाउ सिमलफाटा, कसरोल, जुडा र कालापानीमा होम स्टे का माध्यम बाट पर्यटन विकासको काम हुदैछ' उनले भने ।

प्रमुख संरक्षण अधिकृत रेग्मीका अनुसार स्थानान्तरण गरिएका कृष्णसारलाइ जंगलीपनमा भिज्न दिन तारवार भित्र चरनको व्यवस्था गरिएकोहो । 'प्राकृतिक अवस्थामा चरन गर्ने वानी बढदै गएपछि बिस्तारै खुलारुपमा पनि छोडन सकिनेछ' उनले भने । संरक्षित कृष्णसारलाइ सुरुमा दिनहुँ आहार दिइने भएपनि हाल १ दिन बिराएर चना, गहु, मकै र खनिज पदार्थ दिनमा २ पटक दिइने गरेको रेग्मीले बताए । कञ्चनपुरमा लोप भइसकेको कृष्णसार स्थानान्तरण गरिएपछि त्यहाको मध्यवर्ती क्षेत्रका बासिन्दा पनि संरक्षण प्रति निकै चासो र खुशी जागेको छ ।
[ हामीले यो सामग्री कान्तिपुर दैनिकबाट लिएका हौँ भने तस्बिरहरु बिभिन्न स्रोतहरुबाट लिईएको हो ]
Comments
Post a Comment