माडा र तिलूठः अछामी मैालिक खाजाको सम्झना

-पूर्ण बन्धन, अछाम, (हाल: कोपनहेगन,डेनमार्क)

चामल भिजाएर मसिनो पारी पिसेको पिठोलाई पानी हालेर पालतो, सेल पकाउनका लागि चाहिने जस्तै घोल बनाउने, तातो तावामा अलिकति घ्यू राखेर त्यो चामलको घोल हाल्ने, पातलो भन्दा पातलो हुने गरी लेस्दै जाँदा लगभग डोसाको बाहिरी भागजस्तो हुने गरी वर्काईफर्काई पकाउने । त्यसरी पकाएको रोटीलाई नेपाल अधिराज्यका विभिन्न ठाउँमा विभिन्न नाम दिईन्छ । मेरो जन्मस्थल अछाममा त्यसलाई माडा भनिन्छ ।

यो विशेष गरी खाजाको रुपमा प्रयोग हुने अछामको निकै प्रख्यात र रुचिकर खाजामा पर्दछ । माडाः तरकारी छ भने तरकारीसंग, नभए विभिन्न खालका चट्नी अथवा अचारका साथ सजिलै खान सकिने परिकार हो । सिलाम, तिल अथवा तिलको पिनाबाट बनाईएको एकप्रकारको मस्यौरा जस्तो अछामी मौलिक परिकार “पिनापानी” नामको अचारजन्य वस्तुका साथ हरियो धनियाँ अथवा हरियो लसुन अथवा हरियो पुदिनाका पात, नुन, टिमुर र खुर्सानीका साथ पिसेको चट्नीका साथ खाईने अछामी माडाको स्वाद, विछट्टै रसिलो र पौष्टिक हुन्छ ।

यूरोपेली तथा अमेरिकी समाजमा लगभग यस्तै स्वरुपको गहुँ अथवा चामलको पिठोबाट बनेको प्यानकेक खाने चलन पनि हुन्छ । यस्तो परिकार प्रायः बालबालिकाहरुका लागि बढि रुचिकर हुन्छ । यस परिकारसंग विर्सिनै नसकिने मेरा बाल्यकालिन यादहरु समेत जोडिएका छन् । मेरो गाउँ, अछामको खिमाडाबाट ओह्रालो ओर्लदै बाइजुपू, ठाना हुँदै आधाघण्टा जति झरेपछि बल्डाँडा नामको एउटा रमणीय ढिस्कोमा पुगिन्छ । भूगोलको भाषामा भन्दा बल्डाँडा, पठार हो । उक्त पठारका दुईवटा ठूल्ठूला ढिस्काहरु छन्, बल्डाँडा र तल्लोबल्डाँडा । बल्डाँडामा त्यस क्षेत्रको पहिलो स्कूल खोल्दाका दिन, म पनि पहिलो विद्यार्थी हुने सौभाग्य पाएको थिएँ । त्यो स्कूल यतिबेला हाईस्कूल भैसकेको पनि धेरै भयो ।

चैतवैशाखको महिना देखि उक्त स्कूल बिहान ७ बजेबाट लाग्थ्यो र अपरान्ह १२ बजेतिर छुट्टी हुन्थ्यो । दिउँसो चर्को घाम, बिहानै देखि भोकै स्कूल जानुपर्दा हामी साथीहरुलाई रमाईलो त हुन्थ्यो । तर उकालो चढ्दाको, त्यो सास्ती अनि गर्मी र भोक खपि नसक्नु हुन्थ्यो । हामी भन्दा हाम्री आमाहरु हामी भोकाएको चिन्ताले झनै व्याकुल हुन्थिन् । त्यसैले बिहान सवैरै उठेर हाम्रा लागि त्यही चामलको पिठोबाट बनेको प्यानकेक जस्तो स्वरुपको अछामी मौलिक स्वादयूक्त रोटी ‘माडा’ पकाएर दिनुहुन्थ्यो ।

स्कूलका सरसामान र खेलकूदका सामानहरुले भरिभराउँ झोलामा, कपडामा पोको पारेर दिएको खाजाका लागि ठाउँ हुन्थेन । अथवा अरु कुराहरुले झोलामा रहने महत्व पाउँथे, तर खाजाले पाउँदैनथ्यो । त्यसैले हामी उकालो चढ्दा भोक लाग्छ, अनि यतै बसेर खानुपर्छ, किन बोकेर लाने भन्दै बाटोमा रहेको छिरविरे धाराको वरीपरी कतै ढुंगाको खोंचमा लुकाएर जान्थ्यौं ।

स्कूलबाट फर्केर आउँदा लुकाएको ठाउँबाट झिकेर माडा कतिबेला खाउँला झै हुन्थ्यो । प्रायः गर्मी महिना पुदिनाले फार्इदा गर्छ भनेर, मेरी आमाले सिलामका दाना भुटेर, नुनखुर्सानी, हरियो लसुनका पात हालेर पिसेको पुदिनाको चट्नी दिनु हुन्थ्यो । अछामी भाषामा त्यसलाई तिलुठ भनिन्छ । तिलुठ र माडाको त्यो औधी मिठो भोजन र छिरविरे धाराको पानी खाएपछिको तृप्ती, जीवनमा अन्यत्र कहिल्यै पाईएको छैन ।

यस्ता विर्सिन नसकिने बाल्यकालिन यादका साथ, खास याद आउने एउटा पक्ष के हो भने, कहिले कहीं, रोटीको पोको कसैले खाईदिएको हुन्थ्यो । हामी कुनै वदमास मान्छेले खायो होला भनेर भोकले व्याकुल भएको रिसले, मुख छाडीछाडी गाली गथ्र्यौं । त्यो छिरविरे धाराको वरपर स्यालको पनि विगविगी नै हुन्थ्यो र हामीलाई स्यालले मासु मात्रै खान्छ, रोटी खाँदैन होला भन्ने लाग्थ्यो । लुकाएको रोटी स्यालले पो खाँदो रहेछ । त्यसरी स्यालले रोटी खाईदिएका दिन हामीलाई त्यो उकालो चढ्न निकै गाह्रो पथ्र्यो । जहाँ बाटामा एैंसेलु, चुत्रो जे फलेका छन्, खोज्दै खाँदै साँझ परेपछि घर पुग्थ्यौं । दिनभरी भोकै, हातखुट्टा लखत्रान परेका बेला घरमा पुगे पछि आमा र दाईहरुको थपेर गाली खाईन्थ्यो, दिनभरी कता हराएको भनेर ।

त्यस्ता अविस्मरणीय बाल्यकालिन याद र त्यी यादका साथ जोडिएर रहेको त्यो स्वाद अनि सुगन्ध अझै पनि झलझली सताउँछ, यहाँ सात समुन्द्रपारी सम्म । त्यसैले विव्दानहरुले भन्ने गर्छन्, “मातृभूमीको सुगन्ध मानिसका नसानसा र रगतमा व्याप्त हुन्छ” भनेर । हो यसरी मातृभूमीको सुगन्ध मेरा पनि रगतमा घोलिएको अनुभूति हुन्छ, त्यो मौलिक स्वादयुक्त माडा रोटी र पुदिनाको तिलुठ सम्झँदा ।
 
    [ हाल डेनमार्कको कोपनहेगनमा रहनु भएका पूर्ण बन्धन, बिभिन्न भाषामा गजल लेख्ने गर्नुहुन्छ, उहाँका बारेमा जान्न र उहाँका रचनाहरु पढ्न http://atmabilap.com/ मा क्लिक गर्न सक्नुहुनेछ ]

Comments

Popular posts from this blog

Tikapur Park

Gaura festival

धामीझाँक्री, हाम्रो समाज र हामी