वाइल्ड वेस्ट : मनमोहक पश्चिम

मध्य तथा सुदूरपश्चिम पर्यटकको त्रिकोणीय नयाँ गन्तव्य 
-प्रदीप बस्याल 

पछिल्ला सरकारी तथ्यांकले बर्सेनि विदेशी पर्यटक बढेको देखाउँछन्। तथ्यांकले नदेखाउने पाटो के हो भने तीमध्ये धेरैजसो दोहोर्‍याई-तेहेर्‍याई नेपाल आउँछन्। ट्राभल एन्ड टुर्स अपरेटरहरूको चिन्ता बेग्लै छ, कतिपटक त्यही अन्नपूर्ण सर्किट, पोखरा, चितवन र लुम्बिनी देखाउने? उनीहरू विदेशी र स्वदेशी दुवै खाले पर्यटकका लागि नेपालभित्रै नयाँ गन्तव्यको खोजीमा छन्। प्रचारप्रसारको अभावमा चर्चा बटुलिनसकेका मध्य तथा सुदूरपश्चिमका विभिन्न क्षेत्र सर्वोत्तम विकल्प हुन सक्छन्।
धार्मिक पर्यटनदेखि प्राकृतिक तथा सांस्कृतिक रूपमा मध्य तथा सुदूरपश्चिम नेपाल धनी मात्र होइन, उत्तिकै विविधतापूर्ण पनि छ। प्यूठानको स्वर्गद्वारीदेखि बाजुराको बडीमालिकासम्मको झन्डै १० दिने पदयात्रा गजबको हुन सक्छ। उक्त पदमार्ग अनुपम त हुन्छ नै, बीचमा उग्रतारा, भागेश्वर, शैलेश्वरी, खप्तडजस्ता थुप्रै मठमन्दिर एवं धार्मिक स्थलको दर्शन गर्न सकिन्छ। यातायातले सबैतिर राम्रोसँग जोडिन नसकेकाले पनि बाह्य प्रभावबाट बचेको यो क्षेत्र घुम्दा नवीनता अनुभव गर्न सकिन्छ।
यस क्षेत्रलाई चिनाउन स्थानीय व्यवसायी तथा पर्यटनकर्मीले 'वाइल्ड वेस्ट ट्यांगल' नामको पर्यटन रणनीति तयार पारेका छन्। यो रणनीतिभित्र नेपालगन्जबाट रारा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्ष जोड्ने त्रिकोणीय रुट समेटिएको छ। नेपालगन्जबाट मुगुको ताल्चा विमानस्थलसम्म हवाईजहाजमा यात्रा गरेपछि झन्डै तीन घन्टामा नेपालकै सबैभन्दा ठूलो ताल रारा पुगिन्छ।
दिनभरमा थुप्रैपटक रंग फेर्ने राराले हेर्दैमा अथाह आनन्द दिन्छ। त्यसो त रारा राष्ट्रिय निकुञ्जको आकर्षण ताल मात्र होइन। निकै शान्त परिवेशमा अवस्थित उक्त निकुञ्ज मध्येको हो। विभिन्न मौसममा गरी त्यहाँ मात्रै झन्डै दुई सय प्रजातिका चरा देख्न सकिन्छ। तालको सङ्लो पानीमा सहजै देखिने रैथाने ट्राउट माछा, कस्तूरी, मृग, घोरल र हाब्रे यहाँका आकर्षण हुन्। "भौगोलिक विकटताकै कारण राराको मात्र भ्रमण स्वदेशीको हकमा महँगो पर्छ," रैका ट्राभल्सका निर्देशक अमर शाही भन्छन्, "यद्यपि, त्यसमा थोरै खर्च थपियो भने बर्दिया र शुक्लाफाँटा पनि घुम्न सकिन्छ।"
राराबाट तलतिर झरेपछि बर्दिया राष्ट्रिय निकुञ्ज आइपुग्छ। त्यसको आकर्षण हो, बाघ अवलोकन। तराईको सबैभन्दा ठूलो संरक्षित क्षेत्र मानिने यहाँ नेपालमा सबैभन्दा बढी बाघ गणना गरिएको थियो। चित्तल र कृष्णसार यहाँका अन्य आकर्षण हुन्। दुई रात र तीन दिन त्यस भेगमा बिताएपछि कर्णाली पुल अवलोकन गर्न सकिन्छ। त्यस भेगको केरा रिसोर्ट नमुना मानिन्छ। सिमसार संरक्षण क्षेत्रका रूपमा प्रख्यात घोडाघोडी ताल बसाइँ सरेर आएका दर्जनौँ प्रजातिका चराहरू अवलोकन गर्न उपयुक्त गन्तव्य हो। यसरी शुक्लाफाँटा वन्यजन्तु आरक्षसम्म पुगिन्छ।
शुक्लाफाँटाको प्रमुख आकर्षण त्यहाँका बाह्रसिंगे हुन्। वैशाख ०७० मा भएको गणना अनुसार २ हजार ७० को संख्यामा पाइएका बाह्रसिंगे सयौँको संख्यामा एकसाथ देखिनु नौलो होइन। घाँसे मैदान र सिमसार क्षेत्रमा बस्न रुचाउने बाह्रसिंगे यत्तिको ठूलो झुन्ड विश्वमै पाइँदैन। दिउँसो झाडीमा लुक्ने यिनीहरू साँझ पर्नासाथ बाहिर बरालिन्छन्। यही क्षेत्रको भ्रमणकै क्रममा एसियाकै नमुना मानिएको महाकाली नदीमा रहेको 'मल्टिस्पान पेडेस्टे्रन' पुलको अवलोकन राम्रो अवसर हुन सक्छ।
थारू र मुस्लिम संस्कृति भेटिने यो क्षेत्रबाट जब माथितर्फ बढ्न थालिन्छ, मुगाली, डोटेली र खसदेखि तिब्बती संस्कृतिको समेत प्रभाव देख्न पाइन्छ। प्राचीन तिब्बती संस्कृतिको झल्को पाइने डोल्पा ट्रेक १ हजार ६ सय ५० मिटरदेखि ५ हजार १ सय ३६ मिटरसम्मको उचाइमा छ। सन् १९८९ बाट मात्र खुला गरिएको यो क्षेत्रमा बोन धर्मावलम्बी बस्छन्, जसको रहनसहन तिब्बती संस्कृतिसँग मिल्छ। डोल्पाबाटै मुस्ताङसम्म जोड्ने २१ दिन लामो अर्को मार्गसमेत छ। क्याराभान फिल्ममा यस भेगको रहनसहन देखाइएपछि त्यसतर्फ विशेषगरी युरोपेली पर्यटक आउन थालेका छन्। कैलाश मानसरोवर जाने मार्गको रूपमा हुम्लाको सिमकोट चर्चित छ।
गुरिल्ला ट्रेक हालै मात्र विकसित गरिएको पश्चिम नेपालको आकर्षण हो, जसमा म्याग्दी, रुकुम, रोल्पाका भेग पर्छन्। १० वर्षे माओवादी द्वन्द्वको केन्द्रमा रहेको यो ट्रेकले द्वन्द्वकालीन मात्र झल्को दिँदैन, त्यस भेगमा पर्ने नदीनाला, झरना, गुफासमेत देख्न पाइन्छ। झन्डै १५ दिनमा यो ट्रेक पूरा गर्न सकिन्छ। साहसिक जलपर्यटनका लागि सेती र कर्णाली उपयुक्त गन्तव्य हुन्। खप्तड प्राकृतिक सौन्दर्यसँगै जडीबुटीले सुसज्जित क्षेत्र हो। डोल्पा, मुगु, हुम्लाका केही भेग संसारकै अग्लो ठाउँमा रोपाइँ हुने भेग हुन्। अपी ट्रेलमा होमस्टेको अवधारणा ल्याएर पर्यटकलाई आकषिर्त गरिएको छ। जसले गर्दा त्यताका मौलिक परिकारको समेत प्रवर्द्धन हुने व्यवसायीहरू ठान्छन्।










                              [हामीले यो सामग्री कान्तिपुर दैनिक बाट लिएका हौँ ]

Comments

Popular posts from this blog

Tikapur Park

Gaura festival

धामीझाँक्री, हाम्रो समाज र हामी