'सूर्य पनि अस्ताउन मात्र, आउँछ सुदुरपश्चिममा'

गिरिश गिरि
हामी प्रायः सुन्ने गर्छौं, 'भारतले नेपाललाई हेप्छ।' यो आफैँमा बहसको विषय होला। तर, एकपटक महाकालीको किनारै किनार उक्लनु पर्छ, त्यहाँ हाम्रै सिमाना भित्र रहेको एउटा सिंगो भूभागका भोगाइ नजिकै आइपुग्छन्, जसका निम्ति बहसको आवश्यकतै पर्दैन, यसलाई भारतले पनि हेपिरहेको छ र नेपालले पनि हेपिरहेको छ।

महेन्द्रनगरबाट उत्तरतर्फ जान सडक छैन। त्यहिँनिर पारि भारत जाने बित्तिकै बनवासाबाट सुरुहुने पक्की सडक विश्वकै कुनै सम्पन्न मुलुकको स्तर अनुसार बढेको छ। टनकपुरसम्म महाकाली किनारमा संरक्षित जंगलहुँदै अघिबढेको यो बाटो त्यसपछि पहाड उक्लन सुरुगर्छ। धरानबाट धनकुटा उक्लेजस्तो, ठाउँ ठाउँमा भारतले बाँध बाँधेको फराकिलो महाकाली देखाउँदै। बाटो जति रमाइलो छ, पहिरोको समस्या उत्तिकै। हेर्दाहेर्दै ढुँगा खस्छ र एकछिन बाटै अवरुद्ध हुन्छ। तर अचम्म, केहि छिनमै डोजर आइपुग्छ र सडक सर्लक्कै सफा पारिदिन्छ। यसरि सात घन्टाको यात्रापछि पिथौरागढ पुगिन्छ। देख्दै लोभलाग्दो पहाडी सहर। त्यहाँबाट अर्को सवारी पाइन्छ धार्चुलातर्फ जाने। अबको बाटो भने भिमफेदीहुँदै दक्षिणकाली उक्लेजस्तो। करिब तीन घन्टाको यो यात्राले फेरि महाकालीसँग भेट गराउँछ, जोलजीवी पुगेपछि।

महाकाली आफ्नै बेगले ओर्लदो छ। प्रकृतिले सबैलाई बराबरी दिएकै हो। तर, पनि उदेक लाग्दोगरि ठगीएका छन् पारितर्फ बस्ने नेपाली। वारि सुविधासम्पन्न बस्तीहरु मात्र छैनन्, धमाधम उक्लँदै गरेको अजंगका विजुलीका पोलहरु जताततै देखिन्छन्। भिमकाय ती संरचनाले बोकेका बाक्ला तारहरुले यता मात्र बाल्न नपुगेर अन्त पनि कतिधेरै विजुली पठाइरहेको छ, सजिलै अनुमान लगाउन सकिने। रैथाने बसोबासबाहेक यी विद्युतीय परियोजनासँग आवद्ध थुप्रै कार्यालय र कर्मचारी कोलोनी मात्र होइन, तिब्बत र नेपालतर्फको सिमानालाई ध्यानमा राखेर असंख्य सैनिक र सिमा सुरक्षा ब्यारेकहरु सक्रिय देखिन्छन्। यो बाटोभएर यात्रागर्ने नेपालीले ठाउँ ठाउँमा दुई पुस्तादेखिको विवरण टिपाउनु पर्छ। यसरी यतातिर पुरै गुलजार छ भने उता नेपालतर्फ हेर्यो, नांगो पहाडबाहेक केहि छैन।

जोलजीवीदेखि करिब तीस किलोमिटर किनारै किनार यात्रा गरेपछि पुगिन्छ धार्चुला। तर, अहिले यो बाटो महाकालीले जताततै बगाइदिएको छ। तैपनि बाटो मर्मतको काम युद्धस्तरमा भइरहेको देखिन्छ। अब धार्चुलापुग्न मुश्किलले १५ किलोमिटर बाटो मात्रै अवरुद्ध छ।
धार्चुला पुगेपछि दुई किनारामा बसेको दुई बस्तीबीच फरक झनै झ्याँगिन्छ। गतिलो तटबन्धमा उभिएको व्यवस्थित बस्ती यता छ भने पारि पुग्ने बित्तिकै मोटर गुड्ने बाटोसमेत नराखेर विकास भएको जिल्ला सदरमुकाम। त्यही महाकाली माथिको पुलमा पनि भारतीयहरुले चाहेको समयमा मात्रै ओहोर दोहोर गर्न दिन्छन्। प्रत्येक बेलुकी घडि हेरेर सात बजे झोलुंगेपुलमा कर्कटपाता ठुँसेर बनाइएको ढोका भारतले बन्द गरिदिन्छ। पुलको एकाछेउमा भन्सारका टाठा कर्मचारीसहित हतियार बोकेर तनक्क तन्किएका सुरक्षाकर्मी देखिन्छन् भने यता नेपालमा खैनी मल्दै गरेका एकाध व्यक्तिलाई को आइरहेको छ र को गइरहेको छ कुनै मतलब छैन। सात बज्नै लागेको बेला पारिबाट भारी बोकेर दौडादौड आइरहेका नेपालीहरुको हुल देख्दा एकछिनसम्मै छाती पग्लन्छ।
'पैयाँ गुडन लाग्या, बम्बइ जान्या रेलगाडीका पैयाँ गुडन लाग्या
अब छुटन लाग्या, पहाडका डाँडा कुँडा अब छुटन लाग्या
धोइदिन्याँ कोइ छैन, कुर्ता मैली जामा मैली धोइदिन्याँ कोइ छैन
रोइदिन्याँ कोइ छैन, परदेशमा मै मर्या पनि रोइदिन्याँ कोइ छैन...'

स्थानीयले भाकाहालेर गाउने देउडाका यि शब्द मात्र पनि यहाँ पुस्तौंदेखि उदाएका र अस्ताएका तन्नेरीहरुको कथा भन्न पर्याप्त छ। वारि केहि अवसर छैन। काठमाडौंमा कसको सरकार बन्छ र कसको गिर्छ, यहाँका युवाहरुलाई त्यसको कुनै मतलब हुँदैन। नेपालको सरकारले बजेट घोषणा गर्दा दार्चुलालाई त्यसले छुँदा पनि छुँदैन। जबकि भारतको बजेटले अब कस्तो प्रभाव पार्ला भन्ने कुरामा उनीहरु सदैव सतर्क रहन्छन्। तन्नेरी भएपछि उनीहरुले खोज्ने अवसर भनेको एउटै हो, कसरी हुन्छ भारत जाने र मजदुरी गर्ने। तिनका कथा न कसैले भन्छन्, न कसैले सुन्छन्। देउडामा अभिव्यक्त एकाध भोगाइहरु काठमाडौंले बुझ्दा पनि बुझ्दैन। यसरी एकातर्फ महाकाली र अर्कातर्फ जटिल पहाडले घेरिएका यी बस्तीहरु आफ्ना कथालाई आफैभित्र गुम्स्याएर राख्न बाध्य छन्।

कथा त कोटपेटरा– ८ का राजेन्द्र खत्रीको पनि भन्न सकिन्छ।
फोटो क्याप्सन:ठेकेदारको भारी बोकेर छियालेक तर्फ जाँदैगरेका कोटपेटरा– ८ का राजेन्द्र खत्री। द्वन्द्वकालमा ६ कक्षा पढिरहेकै बेला माओवादीले स्कुल बन्द गराउनुका साथै उनिमाथि असुरक्षा पैदा गरिदिएयता उनी भारतमा मजदुरी गर्दै आइरहेका छन्। तस्बिरः गिरीश गिरी, सेतोपाटी
 हामी धार्चुलाबाट तवाघाट जान तिब्बतर्फको बाटो उक्लँदै थियौं। जताततै महाकालीले धराप बनाएको बाटो छिचोल्दै। बाटोभर हुलका हुल नेपालीहरु ठेकेदारका भारी बोकेर हिँडिरहेका देखिन्थे। महाकाली पारिको नेपाली भूभाग हेर्दै हामी अनेक कुरा गरिरहेका थियौं। त्यस्तैमा हिँड्दा हिँड्दैको एउटा आवाज हामीतर्फ सोझियो।

'सरजी, हमरीतिर रोड कब बनलो? गाडी कब पुगलो?' भाषा मात्र होइन, उच्चारणमा पनि अलिक नौलोपनाले बुझ्न कठिन भयो। साथमा नागरिक दैनिकका संवाददाता मित्र विक्रम गिरी थिए। दार्चुलाकै रैथाने विक्रमले ति युवकको प्रश्न अर्थ्याउँदै उनीहरुले हामीलाई नेपालमा रोडको सर्भे गर्न आएको मान्छे भन्ठानेको बताए।

हामीले आफु को र किन आएको प्रष्ट पारेपछि ति युवकको आक्रोश राजनीति गर्नेहरु तर्फ सोझियो।

'आय्याको बजेट कुपल्क्या होनन्,' उनी भनिरहेका थिए, 'हमरा नेता भुँडी भर्दान्।'

२२ वर्षे राजेन्द्रले सायद यसरी काँधमा बोरा बोकेर हिँड्नु पर्ने थिएन। कोटपेटरामै ६ कक्षा पढिरहेका बेला एकदिन माओवादीहरु उनका स्कुल आए। अचानक स्कुल बन्द भएको घोषणा गरे। राजेन्द्रले उनीहरुको कुरा मानेनन्। बदलामा उनी भक्कु चुटिए। उनका घरका मान्छेहरु पनि तर्साइए। त्यसपछि गाउँमा बस्न संभव भएन। उनी भागेर भारत आए। मजदुरी गर्न थाले। र, यतिबेला धार्चुलाकै एक ठेकेदारको भारी बोकेर माथि छिया लेक जाँदै गरेको उनी बताइरहेका थिए।
...
यसरी आफ्नो दुःख आफैँभित्र गुम्स्याएर बसेको दार्चुला यसपाला फेरि बिथोलियो। छेउबाटै बग्दै गएको महाकालीले गर्दा। यहि नदी उतातिर वरदान भएको छ। विजुली पनि उनैले निकाल्छन्, सिँचाइ पनि उनै गर्छन्। त्यतिले नपुगेर एक पक्षिय रुपमा उतातिर बलियो तटबन्ध तयार पारिएको छ। अर्थात् फाइदाजति सबै उता, बेफाइदाजति सबै यता।

धमाधम बग्दै गरेको दार्चुलालाई उता के कस्ता बाँधहरु बनिरहेका छन्, त्यसले के कस्तो जोखिम गर्छ भनेर जानकारीसमेत कसैले दिँदैनन्। 'यताको भने सिन्कोसम्मका एक एक खबर उनिहरुले राखेका छन्,' स्थानीयहरु सुनाउँछन्।

राज्य यदि दार्चुला प्रतिको जिम्मेवारी पुरा गर्न चाहन्छ भने उसले हरेक वर्ष यो भेगले भोग्ने क्षति र यो क्षतिमा के फरक छ, सबैभन्दा पहिले त्यो पत्ता लगाउनु पर्छ। यसका निम्ति उच्चस्तरिय प्राविधिक टोली गठन गरिनु जरुरी छ। उसले भविष्यमा यो क्षति नहुने प्रवन्धका लागि सिफारिस गर्छ।

त्यसका आधारमा महाकालीका निम्ति भारतसँग एकसाथ सहकार्य गर्न कुटनीतिक पहल पनि अघि बढाइनु पर्छ। नियमअनुसार सिमानाको नदीमा कुनै पनि निर्माण कार्य गर्न अर्को पक्षको सहमति लिनैपर्ने प्रावधानलाई कडाइका साथ लागू गराउनु जरुरी छ। यो कुरा व्यवहारमा यसअघि आएन भने पनि अब आउनु पर्छ।

दार्चुलाको आवश्यकता भनेको भरपर्दो तटबन्ध र सडक यातायातको सुलभता हो। बजेटका रकम वर्षेनी फ्रिज भएर गइरहेको समाचारका बीच अबको वर्ष बजेटमा दार्चुलाका यी दुई कुरामा ध्यान पुगेको पाइएन भने राज्य अझै पनि दार्चुलाका प्रति संवेदनशील नरहेको ठहर्नेछ।

 [हामीले यो सामग्री Setopati.com बाट लिएका हौँ ]

Comments

  1. हरेक बिहान मेरो सुदुरपस्चिम प्रकृति को नाय्नो बर्को ओढेर स्वाभिमानी हाँसो हासिरहेछ, सबैलाई लाग्दो हो सुदुरपस्चिम दुखि छ, तर यथार्थ यो हो, चुनौती लाई आत्मसाथ गरेर उ सधै सिंगो पृथिबी भएको छ . हरेक साँझ बास बस्न सुदुरपस्चिम पुग्ने सुर्य लाई भोलि का लागि सिंगार गरि दिएर पूर्व पठाई दिने पस्चिम भित्र कति महानता छ कि उ आफ्ना लागि मात्र नभएर सबै का लागि पश्चिमी मन देखाई रहेछ .......... अब सुदुरपस्चिम आफ्नो लागि आफै गर्नेछ, सुदुरपस्चिम का सन्तान आफै गर्ने छन् .....किशोर खड्का

    ReplyDelete

Post a Comment