ढिलै भए पनि श्रीमान बिउंझिनु भो


-टेकराज आचार्य,कैलाली
तुइनमा टाँगीएर महाकाली तर्नु पर्ने दार्चुले जनता अनि घन्टौं लगाएर पैदल यात्रा गर्दै गाडी चढ्नु पर्ने कर्णालीको रोदन हाम्रा सबै शासकका लागि अति प्रिय संगीत भएछ क्यारे ! जनताका पीडाहरु समाचार बनेर हरेक दिन पत्रपत्रिकामा आइरहन्छन, साँच्चै जनता रुँदा दुख्ने सरकार हुँदो हो त कर्णाली र महाकालीको बहावसंगै हरेक बर्षको बर्षातमा आँशुको बहाब बढ्दैन हो । रोम जलिरहँदा, राजा निरो चाँही झ्यालमा बसेर बाँसुरी बजाउंदै थिए रे, तेस्तै हाम्रा खिरारे श्रीमान पनि दार्चुला देखि कालिकोट सम्म बगिसक्दा घ्वारघ्वर घुरेर निदाई रहे।

सिंहदरबार र बालुवाटार जापानमा सुनामी आउँदा समबेदना लेख्न हतार गर्छन् महाकालीमा बाढी आएर आफ्नै हज्जारौं जनता बिस्थापित हुँदा मस्त निदाइरहन्छन्। ब्युँझेर आखाँ मिच्दै दोष जति भारतलाई थोपर्छन अनि राहतको तयारीमा छौं भन्छन् । त्यहि दार्चुलाको पारीपट्टी थुप्रै हेलिकप्टर सहित उद्दार परिचालित गर्छ हाम्रो छिमेकी तर हाम्रा पट्टि बाढी आएको तेस्रो दिन एउटा हेलिकप्टर पठाउने सहमति हुन्छ।

बर्षात हरेक बर्ष आउने स्वाभाविक ऋतु हो तर यसले गरेको क्षति भने स्वाभाविक हुँदै होइन। बर्षाको समयमा बाढीपहिरोको जोखिम निकै उच्च हुन्छ त्यसैले सरकारले जनतालाई सचेत बनाउने, जोखिमबाट बच्ने तरिका सिकाउने, ठुल्ठुला नदीको जोखिम्युक्त क्षेत्रमा बाँध बाँध्ने लगाएतका बिबिध काम गर्नु पर्ने देखिन्छ, जसले गर्दा जोखिम अनि क्षति न्यून हुनेछ र हरेक बर्षातमा सुनिने दुखद् समाचारमा कमि हुनेछ।

ढिलै भए पनि कर्णाली र महाकालीको गडगडाहटले खिरारे श्रीमानको निन्द्रा खुलेको छ। ढिलै भए पनि केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीबाट प्रभावितहरुको थप खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले महाकाली नदीमा आएको भीषण बाढीबाट बढी प्रभाव पारेको दार्चुला तथा कञ्चनपुर जिल्लामा केन्द्रीय दैवी उद्धार कोषबाट ती जिल्लाका कोषमा रु ५०/५० लाख तत्काल पठाउने पनि निर्णय गरेको छ।

दार्चुला सदरमुकाममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सहरी विकास मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीबाट अत्यावश्यक औषधि, खानेपानी शुद्धीकरणमा प्रयोग हुने तथा अन्य राहतका सामग्री छिट्टै हेलिकप्टरबाट पठाउने निर्णय पनि बैठकले गरेको छ। 

Comments

Popular posts from this blog

Tikapur Park

Gaura festival

धामीझाँक्री, हाम्रो समाज र हामी