घोडाघोडी तालको छेउमा उभिँदा
मेरो देश प्राकृतिक सम्पदाको देश। तराई, पहाड र हिमालयको देश। हिमनदी र ताल तलैयाको देश। रारा र तिलिचोको गर्भमा स्वर्गको वास छ। फेवाको सौन्दर्य विश्व प्रसिद्ध छ। जैविक विविधताको देश। सांस्कृतिक सम्पदाको देश। सौन्दर्यको उत्कृष्ट वरदान मानिसका लागि मात्रै पर्यटकीय गन्तव्य रहेनछ। पशुपन्छीका लागि पनि उत्तिकै आकर्षक र मोहनीको केन्द्र बनेको छ मेरो देश। यही २०७३ वैशाख ८ गते बिहान ६ बजेतिर धनगढी बजारबाट निस्कें। अत्तरियाबाट गाडी पूर्व मोडियो। कर्णाली पुगेर बिसाउने उतै बिहानको खाजा खाने र कोहलपुर खाना खाने योजना छ।
गाडी करिब ५३ किलो मिटरको दूरी पूरा गरेर घोडाघोडी नगरपालिका पुग्यौं। घोडाघोडी तालको छेउ पुगेपछि गाडी रोकियो। म हतारमा गाडीबाट झरें। र, तालको डिलमा उभिएँ। त्यसको चारैतिर आँखा लगाएँ। घोडाघोडी तालको यो भव्यतासित अहिलेसम्म परिचित हुन नसकेकोमा मनमनै लज्जा बोध भयो। जेनेभा तालको फन्को मारेर रमाएँ। बर्माको राजधानी नापिताओस्थित होटल परिसरको तालको किनारमा साँझ बिहान एक हप्तासम्म बसेर ढुंगा फालेँ। तरङ्ग र छाल हेरेर उतै टोलाएको केही समय मात्रै भएको छ। समुद्री किनारमा रहेको श्रीलंकाको एक प्रसिद्ध पाँचतारे होटल लाटिभियाको बार्दलीबाट घन्टौंसम्म किनारको पत्थरमाथि समुद्री छाल ठोकिएको हेरेर उतै हराएको थिएँ। बेलायततिर बरालिँदा डायनाको दरबार वरपरका तालमा विभिन्न प्रजातिका जलहाँस शयर गरेको देख्दा मन विछट्टै रमाएको बिर्सन सक्दिनँ। राराको किनारमा एक रात जागाराम बसें। तर आजसम्म घोडाघोडी तालबारे केही जानकारी न हुनु र त्यसको फेरो मारेर आनन्द लिने अवसर नहुनु दु:खको विषय हो। मेरो छिपछिपे जानकारीभित्र भव्य तालको अवलोकन परेनछ। ताल अवलकोन गर्दै थिएँ। एक जना सेतो कमिज कालो पाइन्ट नेपाली टोपी लगाएको मझौला कदको मानिस झ्याप्पै अगाडि आएर परिचित मित्रले झंै नमस्कार गरे। बाजुरातिर गुजारा नचलेर भनौं बसाइसराइ गरेर यतै झरेका दीपेन्द्र शाही सामाजिक अगुवा रहेछन्। घोडाघोडी तालबारे उनले जानेसम्मको विवरण सुनाए। कैलालीको सुखड क्षेत्रमा अवस्थित स्वच्छ पानीको घोडाघोडी तालको क्षेत्रफल १३८ हेक्टर रहेछ। दुईदेखि चार मिटरसम्म गहिराइ रहेको घोडाघोडी तालको वरपर यसका १९ दिदीबहिनी ताल फैलिएका रहेछन्। पूर्व–पश्चिम राजमार्गमा पर्ने धनगढी बजारदेखि करिब ५३ किलोमिटर पूर्वमा पर्ने यो ताल कैलालीको घोडाघोडी नगरपालिका र रामशिखरझाला गाविसको सिमानामा अवस्थित छ। १९ वटा तालतलैयाले ओगटेको क्षेत्रफल २४८ हेक्टरसमेत यस क्षेत्रको कुल क्षेत्रफल २५६३ हेक्टर रहेछ।
१९ वटा तालहरूमध्ये नखरोड ताल ७० हेक्टरमा फैलेको र चराहरूको सुरक्षित वासस्थान रहेको भनिन्छ। त्यसबाहेक घोडाघोडी तालको वरपर पूर्वीआर्जुवा, आर्जुवा वैसवा, बूढी नखरोड, खर्कटुवा, छिडटुवा, टेडी प्रशिवा, सुनपोखरी, रामफल, टेकनवासमेतका १९ ताल छरिएका छन्। त्यस क्षत्रको रैथाने जाति थारू भाषामा तिनको नामकरण भएको देखिन्छ। घोडाघोडी ताल सफा पानीको ताल हो। यी सबै ताल संरक्षित वन क्षेत्रभित्र पर्दछन्।
घोडाघोडी ताल क्षेत्र विसं २०६० साउन २८ गते (१३ अगस्त २००३) रामसार महासन्धिअन्तर्गत संकेत नं. १३१४ मा सूचीकृत भएको रहेछ। भौगोलिक, आर्थिक, सामाजिक, पर्यावरणीय हिसाबले अत्यन्तै महत्त्वपूर्ण जलभण्डार मानिनेरहेछ यसलाई। जैविक विविधताको हिसाबले अत्यन्तै समृद्ध तालमध्ये एक रहेछ यो। त्यसैले यस तालले अन्तर्राष्ट्रिय रूपमा अत्यन्तै ठूलो महत्त्व राखेको छ।
घोडाघोडी ताल तालहरूको माला हो। एउटापछि अर्को तालैतालले बनेको संरक्षित क्षेत्र विभिन्न प्रजातिका चराचुरुंगीको सुरक्षित शान्त अनुकूल बासस्थान रहेछ। हरि हाँस, रैथाने हाँस र धेरै प्रजातिका पाहुना पन्छीहरू तालको आनन्द लिन आउँछन्। साइबेरियादेखि आएका पर्यटक चराहरू सिमसार चर्छन्। १९ तालमा पालोपालो पौडी खेलेर आनन्द लिन्छन्। स्थानीय पन्छीसित मैत्री सम्बन्ध कायम गर्छन्। संरक्षित वन क्षेत्रमा ढुक्कसित शयर गर्छन् रमाउँछन्। उतै ओथारो बस्छन्। नयाँ सन्तानसहित आ–आफ्नै देश फर्किन्छन्।
पशुपन्छीहरू दौत्य सम्बन्ध कायम गर्न सिपालु छन्। प्रेम, मित्रता र सद्भाव साट्छन्। अर्को साल फर्किने वाचा गर्छन् र फर्किन्छन्। जन्मथलो सबैलाई प्यारो हुन्छ। चराहरू आफ्नो पुख्र्यौली भुल्न नसकेर फर्किन्छन्। आफ्नै देशमा रमाउँछन्। अर्को वर्ष फेरि अतिथि बनेर आउँछन्। आतिथ्य सत्कारका लागि नेपाली हावा, पानी, माटो र मेरो प्रकृति संसारमा सर्वोच्च स्थानमा छ। विनम्रता यसको विशेषता हो। रैथाने पन्छीले आतिथ्य र सहृदयता प्रदर्शन गर्न नसकेको भए दुनियाँबाट यहाँ आएर रमाउन सम्भव हुने थिएन होला। विश्वका बहुमूल्य जडीबुटी, इतिहासमा संकटग्रस्त अवस्थामा रहेका दुर्लभ वनस्पति र चराहरूका प्रजाति संरक्षित क्षेत्रमा रहेका छन्। त्यस्तै रैथाने प्रजातिका दर्जनौं माछाहरू, दुर्लभ रातो टाउके कछुवा र दुर्लभ गोहीको प्रजननस्थल बनेको रहेछ घोडाघोडी ताल। ताल र सिममसार क्षेत्र वरपर अतिलोपोन्मुख मानिने जंगली धानसमेत पाइन्छ। ३१ प्रजातिका माछा, १४८ प्रजातिका चराहरू, ३२ प्रजातिका पुतलीहरू, ११ प्रजातिका गोहीहरू, ७ प्रजाति घ्रसिने जन्तुहरू, ४५० भन्दा बढी प्रजातिका वनस्पति रहेको अहिलेसम्मको अनुसन्धानले बताउँछ। संसारको दुर्लभ र अन्यत्र उतै नभेटिने हरियो टाउके माछा, रातो टाउको भएको कछुवा, तीनधर्के बाघ, पाटेबाघ, विशेष जातिको चितुवा, जंगली धान र स्वच्छ पानीको ताल यसको विशेषता हो। संसारमै निकै बहुमूल्य मानिने सतीसाल, साल, खयर साजको जंगल यसको विशेषता हो। जैविक अनुसन्धानको महत्त्वपूर्ण प्रयोगशाला हो घोडाघोडी ताल। हाम्रो राष्ट्रको गौरव र ठूलो विश्वविद्यालय हो यो अध्येताका लागि। यसको अन्तर्राष्ट्रिय महत्त्व छ। यति ठूलो वैभवमा राज्यको ध्यान नपुगेको देख्दा रुन मन लाग्छ। ‘कौडीमा पनि मिल्किन्छ भिल्लका देशमा मणि’ भनेको यही होला। यो संसारकै समृद्ध जैविक संरक्षण क्षेत्र हो। नेपालको दुर्लभ सूचीमा परेको घडियाल गोहीको संरक्षणका लागि तालको मध्यभागतिर गोही प्रजनन केन्द्र निर्माण गरिएको रहेछ। त्यस्तै हिउँदमा आउने फिरन्ते चरा र स्थानीय चराचरुंगीको प्रजनन केन्द्रका लागि तालको छेउछाउ जंगलतिर चरा प्रजनन केन्द्र बनाएर राम्रो काम भएको रहेछ। यहाँको मनोरम क्षेत्रको अवलोकन गरेर मन निकै रमायो। मेरो देशको सम्पदा मेरो देशको वैभव देखेर म मनमनै भावुक भएँ। हामी स्रोत साधनका धनी, तनका धनी, मनका धनी, संस्कृति र सम्पदाका धनी भएर पनि किन गरिबी देखाउँछौं अरूका अगाडि। स्रोत साधनको परिचालन सम्पन्नताको पहिचान हो। कस्तुरीको वासना हामीभित्रै छ। तर हामी कस्तुरीको खोजमा अरूको गुलाम बन्दै छौं।
यस क्षेत्रको धरतीपुत्र थारूले संरक्षण गरेको घोडाघोडी ताल क्षेत्रले त्यो जातिको विश्वास र भावनासँग अभिन्न सम्बन्ध राख्छ। प्रत्येक वर्ष मंसिर महिनाको विवाहपञ्चमीका दिन यस क्षेत्रका चौधरी (थारू जाति) ले तालको छेउमा रहेको घोडाघोडी देवताको पूजा गर्ने गर्दछन्। तालको दक्षिण किनार राजमार्ग छेउमा रहेको घोडाघोडी बाबाको मन्दिरमा परेवा, हाँस, बंगुर, कुखुरा आदिको बली दिएर पूजाअर्चना गरिन्छ। थारू जातिको ल्वाङ्गी पूजा, मोहत्याल पूजा गरेर बाबाको आशीर्वाद थाप्छन्। शिवरात्रि, माघेसंक्रान्ति, कृष्ण जन्माष्टमीका दिन पनि मेला भर्ने प्रचलन रहेएको बताइन्छ। नयाँ बाली थन्काएपछि यो चाड धुमधामसित मनाएर परम्परा धानेका छन् थारू जातिले। आदिवासी थारू जाति धरतीपुत्र, प्रकृतिको रक्षक र परम मित्र हो। यसको प्रकृतिसित जीवित सम्बन्ध छ। प्रकृतिमाथि अतिक्रमण र आक्रमण गर्ने जातिले प्रकृतिको पुजारी थारू जातिलाई विस्थापित गर्दै लगेको छ। अर्को धार्मिक महत्त्वको सीताकुण्ड ताल क्षेत्र नजिकै छ। घोडाघोडी तालको महत्त्वपूर्ण जलस्रोतको भण्डार भनेर सीताकुण्डलाई मानिन्छ। आसपासका ससाना खोलाखोल्सी र तालभित्रको आफ्नै जरुवा र वर्षातको पानी यस जलभण्डारको महत्त्वपूर्ण स्रोत हो। हिउँदमा गाउँलेको खानेपानी समस्या हल गर्न तालबाट पानी छाडिनेरहेछ। मानिस प्रकृतिको सन्तान हो। आफ्नो सन्तानको बचाउका लागि प्रकृति यसै तत्पर छ। घोडाघोडी तालको काखमा आश्रित जनताको तिर्खा मेट्न ताल रसाएको छ। तालको वरपर जंगलमा बहुमूल्य जडीबुटी पाइन्छ। प्रकृतिका पुजारी थारू जाति तिनै सञ्जीवनीको भरमा रोगको उपचार गर्छन्। यो जातिको आफ्नै जीवनशैली छ। भाषा, धर्म, संस्कृति र परम्पराको मौलिकता यसको विशेषता हो। मौतुहवा, थालुफाटा गाउँमा अहिले होमस्टे बनेको सुन्दा खुसी लाग्यो। माघी थारू जातिको महत्त्वपूर्ण चाड हो। यसलाई धुमधामसित मनाइन्छ। माघी गाउँ पनि तालको आसपासमै पर्ने र घोडाघोडी क्षेत्र अवलोकन गर्न आउने अभ्यागतलाई थारू खाना, खाजा र सांस्कृतिक नाचले स्वागत गर्ने चलनको सुरुवात भएको रहेछ। घोडाघोडी तालमा मौसमअनुसार जातजातका कमलका फूलहरूले ढपक्कै ढाकेको हुन्छ। सिमसार क्षेत्र तालको छेउछाउ जंगलमा सयौं जातका फूलहरूको वासनाले ताल वरपरको परिवेश बाह्रै काल मगमगाएको हुन्छ। मौसमअनुसार चराचुरुंगीको सुमधुर कलरव र नादमा प्रकृति झुलेको छ। नजिकैको पीपलको डालीमा बसेर कोइलीले कुहुकुहु गर्दै अभ्यागतको आगमनको स्वागत र परिचयको विनय गरेको छ। आज मैले मेरो परिचय दिन लजाएको छु। ढिलो गरी यस क्षेत्रमा पुगेकोमा मनमनै क्षमायाचना गर्दै छु। मेरो मनको वेदना बुझेर होला सायद कोइली भुर्र उडेर अलि पर आफ्नो राग अलापिरहेको छ। ऐतिहासिक महत्त्वको यस हय सरोवरले पौराणिक लोकोक्ति बोकेको छ। सत्ययुगको अन्ततिर उछौ श्रावा नामको पाइनदार घोडामाथि तेजस्वी भाइ रेवन्तक वैकुण्ठतिर आउँदै गरेको देखेर लक्ष्मी आसक्त भइछन्। विष्णु भगवान्ले त्यसलाई सहन गर्न नसकेर लक्ष्मीलाई ‘मृत्युलोकमा गएर घोडीको भेषमा विचरण गर्नू’ भन्दै श्राप दिएछन्। लक्ष्मी घोडीको रूप धारण गरी यही सरोवर वरपर विचरण गर्न थालिन्। केही समयपश्चात् विष्णु भगवान् लक्ष्मीलाई भेट्न घोडाको भेष धारण गरी आए। दुवै यही सरोवर वरपर विचरण गरेकाले थारू भाषामा घोडाघोडी ताल भएको किंवदन्ती शाहीले सुनाए। घोडाघोडी ताल संरक्षण र त्यसको विकासका लागि स्थानीय जनताको सक्रियतामा घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपालको गठन भएको रहेछ। दीपक शाही त्यसको अध्यक्ष रहेछन्। मञ्चको सक्रियतामा केही काम भएको देखिन्छ। यति ठूलो अन्तर्राष्ट्रिय महत्त्व बोकेको र रामसार महासन्धिअन्तर्गत सूचीकृत घोडाघोडी तालमा राज्यको नजर परेको देखिँदैन। सांस्कृतिक, धार्मिक र जैविक अध्ययनका हिसाबले यो अत्यन्तै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो।
(कान्तिपुर दैनिकबाट दीनानाथ शर्माको सामग्री)