एड्स बोकेर बाँच्ने बेलुहरुको व्यथा

-भवानी ऐर 

धनगढी, साउन १४ –‘डोटी राम्रो डडेल्धुरा अछाम राम्रो साँफे, मलाई पनि उडाई लैजा हिमचुलीका डाँफे’ यस्तै गीत गाएर बेलुदेवी कामीले बाल्यवस्था पार गरिन् । उनी सानोमा यो गीत खुब मन पराउँथिन् अनि आफूले लगाएको फराक (जामा) लाई हावामा फरर्र फिँजाएर घुमाउथिन् । डोटी र साँफेवगर सम्झाउने गीतले डाँफे जत्तिकै उडेर तराईको प्रचण्ड गर्मी छल्न पहाडका हिमचुली पुग्ने रहर सबैमा जगाउँथ्यो । बेलुले अन्जानमै टिपेको लोकगीतको भाका अब पुरानो भएको छ । अनि अछाम, डोटी र डडेल्धुराको सुन्दरता यतिखेर एकादेशको कथामा परिणत भएका छन । रोजगारीका लागि भारत गएर आउनेहरुले ल्याएको एचआइभी एड्सले कैलालीनै एड्स धेरै भएको जिल्लामा गनिन्छ । सिकारीको तिर लागेर घाइते भएको डाँफेजस्तै कैलाली पनि रोगको ओछ्यान परेको छ । सुदूरपश्चिमको प्रवेशद्धारका रुपमा कैलाली सदरमुकामबाट एक, डेढ घण्टाको सडक यात्रापछि गोदावरी गाविसको ओलानीमा पुगिन्छ ।
 पहाडको फेदीमा रङगीविरङगी फूलहरुले सिंगारिएको गोदावरीले जति आगन्तुकलाई स्वागत गर्छ त्यति छिमेकी ओलानीका स्थानीयहरुले गर्न सक्दैनन् । उनीहरु वहिस्कृत छन्, अपहेलित छन् अनि बाँच्ने जीवनबर्षमा स्वप्नविहिन टोलाएका आँखाले पाहुनालाई स्वागत गर्नु मनासिव पनि ठान्दैनन ्। एचआईभी एड्स संक्रमितका क्षेत्रमा कार्यरत सेवा संस्थाका अनुसार कैलालीको ओलानी गाउँमा मात्र चार दर्जनबढी एचआइभी एड्स (बम्बैया रोग)वाट संक्रमित रहेका छन । थकित अनुहार, हतार हतारमा अग्ला पहाडका बनपाखा भ्याउदै पिठ्युँमा दाउराको भारी बोकी घर फिर्दैछिन् बेलुदेवी कामी । आफ्नो जीवनका उतार चढावलाई मनमा गुथ्दागुथ्दै कतिखेर घर पुगिन्छ भन्ने पनि हेक्का हुँदैन उनलाई । बेलुले जीवनमा धेरै गोरेटाहरु छिचोलेकी छिन् । कयौं मोड र घुम्तीसंग जम्काभेट गर्दै अगाडि बढ्दा उनले अनगिन्ती ठेस भोगेकी पनि छिन् र थुप्रै हण्डर खाएकी छिन् । अस्ताउनै लागेको सूर्य जस्तै जीवन हुँदासम्म पिठ्युँमा दाउराको भारी त उनको दैनिकी हो, उनको जिम्मेवारीको भारी गाउँ नजिकैको पहाड जत्तिकै भयङकर र निरन्तर छ । आफ्नो कोखबाट धर्तिमा पाइला टेकेका चार छोरा र तीन छोरीको जिन्दगी थाँग्नामा बेरिएका काँक्राका लहराझैं उनीमाथि झेलिएका छन् । शरीरमा एड्स (बम्बैया रोग) लागेको ९ बर्ष भइसकेको छ । कैलालीतिर एचआइभी एड्सलाई बम्बैया रोग भन्ने चलन छ । उनी भन्छिन् –“उनखी (श्रीमानलाई) एड्स भ्याको रहेछ, हामीले थाहा पाँयानौ ।” बेलुका श्रीमान् नृप कामी बम्बैको केरलामा काम गर्दागर्दै बिरामी परेर गाउँ फर्केको ७ महिनासम्म ओछयान परे । बेलुका लोग्ने आफूलाई टिवी भएको भन्दै औषधी खान्थे । मरेपछि गाउँलेले –‘भाईयौ यसको लोग्ने त एड्सलागि मर्याको’ भनेपछि बेलुले थाहा पाईन् । बेलुका लोग्नेलाई पहिले नै एचआइभी एड्स भएको रहेछ । अन्जान बेलु र निर्दोष नावालक छोराछोरीमा पनि नृप कामीले एचआइभी थमाइदिए । जब गाउँमा बेलु र बेलुका छोराछोरीमा एचआइभी छ भन्ने हल्ला फैलियो तब गाउँलेले भन्नथाले –‘यइले पनि दुनियाँको रोग सारी ।’ बेलुले आफ्नो श्रीमान् बितेको एक बर्षसम्म गाउँ गाउँमा मागेर आफ्ना केटाकेटी पालिन् । बेलुले आफूलाई एड्स भएकोे थाहा पाएको पनि आठ बर्ष भइसक्यो । उनी गाउँबाट विस्थापित भइन् । उनको जीवनमा दुःखको महाभारत बाहेक केही पनि जुटेन । उनले आशा गरेको र पर्खिएको भनेको मृत्यु नै हो । मृत्यु पखंर्दै हातका बाहुलाले आँशु पुछेर भए पनि सातजना छोराछोरीलाई लतार्दै यहाँसम्म ल्याइपुर्याएकी छिन् । गाउँबाट विस्थापित भएसंगै बेलुको जिन्दगीका पाईला टेक्ने एक टुक्रा जमिन र टाउको लुकाउने झुप्रो घर पनि खोसियो । बेलुको घरमा जस्तै कैलालीका धेरैजसो गाउँबाट भारतका मुम्बइ र दिल्लीमा काम गर्न जाने पुरुषहरुले घर परिवारमा नाँसो स्वरुप एचआइभी (बम्बैया रोग) थमाएका छन् । अहिले कैलालीमा एचआइभी एड्स संक्रमितका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न गैरसरकारी संस्थाहरु सक्रिय रहेका छन् । बेलुले पनि सहयोग स्वरुप ३ वटा बाख्रा पाइन् । बेलुले पालेका बाख्रा बेचेपनि –‘ये एड्स सरला जनखा मासु, जन किन बाख्रो’ (एड्स सल्केला बाख्रा नकिन्नु, मासु नसानू…) भनेर बेलुले पालेका खसी बोका किन्न नदिने मानिसहरु अहिले पनि गाउँमा सक्रिय छन् । अहिले बेलुको माइलो छोराले एसएलसी दिएकाछन् भने जेठो छोराले सानो खोकापसल गर्छन् । बेलुको दिनचार्य फेरिएको छैन । उनी अझै पनि आफ्ना छोराछोरीको अनुहारमा अनिश्चितताको बादल मडारिएको देख्छिन् । उनीहरुमा केही कुराको पनि उमङग र चयन छैन । साथीहरुसंग खेल्न, गाउँमा यताउता जाने गर्दैनन् । साथीसंगीले पनि –‘एड्स आयो एड्स आयो’ भनेर बहिष्कार गर्छन् । रातोपाटीसँग दुःखेसो राख्दै बेलु निराशाको सुस्केरामा आकाशतिर नियाल्दै भन्छिन् –‘अब मलाई हिमचुलीको डाँफेले होइन यमराजले मात्र उडाउन सक्छ । रामायणमा अग्नि परीक्षा भोगेकी पवित्र नारी बेलु, यतिखेर एचआइभी एड्सको बोझ बोक्छिन् अनि फेरि धर्ती फाट्ने आशा कुर्छिन ।

 [ हामीले यो लेख http://www.ratopati.com/ बाट लिएका हौँ ]

Comments

Popular posts from this blog

Tikapur Park

Doti District Nepal

Gaura festival