गौरा: एक कोलाज

राजेन्द्र नाथ
 ती दिनहरुमा हाम्रो विद्यालयको पोसाक, खाकी रंगको पाइन्ट र आकासे सर्ट हुन्थ्यो । बर्षको एकपटक सिलाइन्थ्यो, त्यो पोसाक । गौराको बेलामा । नयाँ लुगा भनेकै, त्यही ।
गाउँको सिरानमा काटछाट गरेर मिलाए जस्तो एकनासे सल्लेरी बन थियो । त्यसका बीच–बीचमा केही सालका सुलुत्त परेका बोट । सल्लेरी वन नाघेपछि भिरालो डाडामा विद्यालय टाढै टल्कन्थ्यो, मालिकार्जुन प्राबि तेलीगाउँ । साता अघिनै बगाले हेड सरले फर्मान जारी गर्नुहुन्थ्यो, ‘विद्यालय खुलेपछि सबै जना नयाँ ड्रेसमा आउनु ।’ अरु बेला भए हेडसरको फर्मानले आतंकित तुल्याउथ्यो । तर, त्यो गौराको छुट्टीको ‘बिशेष घोषणा सभा’ भने सबैका लागि सुरुची र प्रितिकर थियो ।
पहिला–पहिला हजुरबा गौराको नयाँ लुगा र अन्य खान्कीको ब्यवस्था गर्न झुलाघाट पुग्नुहुन्थ्यो । दार्चुला र बैतडीको यो भारतीय सीमा बजार आउजाउमै दुई दिन लागथ्यो । त्यहाँका ‘सेटजी’ हरुकोमा बर्षौदेखिको कारोबार सम्बन्ध थियो । जाँदा घयूका ग्यालिन बोकेर जाने र आउदा झोलामा नयाँ लुगा र मिस्रि तथा नरिवल जस्ता खानेकुरा लिएर आउनुहुन्थ्यो, उहाँ । तिनै चल्तिमा पनि थिए, त्यो बेला ।
हजुरबा गएको भोलिपल्ट देखि हाम्रो नजर भने बाटामै हुन्थ्यो । बांगाबगडबाट चौलानी नदी पार गर्दै उकालो लागेपछि टाढैबाट ठम्याउथ्यौं, ‘उ हजुरबा आउनुभो ।’ एउटा बेग्लै खुसीको तरंग झङकृत हुन्थ्यो, शरिरै भरि । हजुरबा कडा स्वभावको । आफ्नो जवानीका धेरै बर्ष बम्बईमा बिताउनु भो । परिवार पाल्न त्यहाँका अनेक कम्पनी र गल्लीहरुमा चौकिदारी गर्नुभो । घर–घरायसी समस्याले अटेचेपछि फिर्नुभएको थियो ।
गाउँमा मात्र होइन, दार्चुलाको दुर्गम लेकम गर्खामै साह्ै मिहेनेती र कडा स्वभावको परिचय बनाएका हजुरबा संग एउटा बेत बासको लाठी थियो । झण्डै दुई फिटे बुट्टेदार त्यो लाठी अरु बेला घरको छानामा घुसारिएको हुन्थ्यो । तर, जब उहाँलाई लाग्थ्यो, यिनीहरुले पढेनन्, बिठ्याई गरे । अनि त्यही बेत बासको लाठी झिकेर स्याइए ..गर्दै तिघं्रामा हिर्काउनुहुन्थ्यो । बुट्टेदार सर्पजस्तो त्यो लाठी देख्दा हामी परै भाग्थ्यौ, त्यसले सर्पझै तर्साउथ्यो । त्यस्तो कडा मान्छे झुलाघाटबाट फर्केका दिनमा भने संसारकै सबैभन्दा बढी मायालु र महान लाग्नुहुन्थ्यो । लाडिएर उहाँसंग बस्न हानथाप हुन्थ्यो ।
बाल्यकाल बितेको त्यो दुर्गम गाउँबस्तीमा चाडपर्ब भनेकै गौरा थियो । दसैं र तिहारको हेक्का कहिल्यै भएन । त्यसलाई मनाउने उतिसारो चलन पनि थिएन । गाउँ छाडेपछि मात्रै ती पर्बबारे चाल पाएको हु । विद्यालयको अघोषित शैक्षिक सत्र पनि गौराबाटै सुरु हुन्थ्यो, पोशाक र नया कापी कलम किनेर ।
गाउँको पुछारमा एकजना दमै दाईको घर थियो । गाउलेले जग्गा ब्यवस्था गरेर उनलाई घर बनाउन सघाएका थिए । गाउ भरिका लुगा त्यही परिवारले सिउथ्यो । गौरा सुरुवात अघिनै हाते सिलाई मेसिन टाउकामा बोकेर त्यो परिवार हाम्रोमा उकालिन्थ्यो । केही दिन लगाएर सबै लुगा सिउथ्यो । अनि ‘खलो’ र केही नगद लिएर जान्थ्यो । नयाँ लुगाको बास्नै प्यारो लाग्ने । एकछिन छोडदैनथ्यौं, हामी । घेरेरै बस्थ्यो । मेसिनको खर खर आवाज असाध्यै मिठो लाग्थ्यो । सियोमा धागो हाल्ने र कहिलेकसो मेसिनको ह्याण्डिल चलाउन पाउदा अग्घौरै खुसी हुनेमा पर्थे म ।
गौराको दिन आमा सबेरै उठनुहुन्थ्यो । हतारपतार गोठमा भएको पशुबस्तुको मल बाहिर मिल्काउनुहुन्थ्यो । घरायसी धन्दा सकेर घास काट्न निस्कनुहुन्थो । गौराका लागि भनेर घर नजिकका बारीमा पहिल्यै देखि घास जोगाएर राखिएका हुन्थे । हलक्कै बढेको त्यो घास घर भित्रयाएपछि बर्तालु महिलासंगै आमा बिरुडा (पंच अनाज) लिएर मन्दिरतर्फ उक्लिनुहुन्थ्यो । नयाँ लुगा लगाएर म पछिपछि लाग्थे ।
जताततैका डाडाहरुमा दमाहा र झ्यालीका आवाज गुन्जिरहेका हुन्थे । महिलाहरु मन्दिरमा गौरादेबी (पार्वती) र भगवान शिवको स्तुती गाउदै बिशेष पूजनमा हुन्थे । पुरुषहरु देउडा भाकामा देबीदेवताका गाथा गाइरहेका हुन्थे, छुट्टै ठाउमा । पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्थे । तिनमा महाभारत, रामायण सहित धामिर्क ग्रन्थमा आधारित कथाहरु भन्ने गरिन्छ । तर, अचेल ठाडो खेलमा बीरगाथा हराउँदै जान थालेका छन् । ती क्षण सम्झिदा, अहिलेपनि नोस्टालिज भइन्छ ।
बर्षको एकपटक आउने गौरा पर्व मनाउन परदेशीएकाहरु घर फिर्थे । गाउघरका मठमन्दिरमा गौरा पूजनसँगै देउडा भाका गुन्जायमान हुन्थे । गौरापर्बको रौनकले बेग्लै सांस्कृतिक तरंग ल्याउथ्यो । रोजगारीका लागि बाहिर रहेका युवाहरुको आगमनसँगै गाउँमा बेग्लै माहोल छाउथ्यो । उनीहरुको सानै बेग्लै । तिनले खुट्टामा जुत्ता लगाएका हुन्थे । कम्मर पेटी । हातमा टेपरेकर्डर र रेडियो झुण्डिएको हुन्थ्यो । अधिंकास युवा रोजगारीका लागि भारत जाने चलन थियो । ‘आइलभयू’ र ‘मैने प्यार किया’ अंकित रुमाल चट्ट घाटीमा बेरेका हुन्थे । कुरै पिच्छे ‘अच्छा’ थेगो लगाएर भारतीय सहर र आफ्ना ‘सेटजी’ का बारेमा गफिने त्यस्ता युवा गौराका आर्कषक मानिन्थे, तिनलाई पछयाउनेको हुल हुन्थ्यो, इष्र्या सहित ।
गौरीको प्रतिमासंगै पहेँलो कपडाले बेरिएको काठको पिर्कालाई शिवको प्रतिक मानेर राख्ने गरिन्छ । यस बेलामा दुबधागोलाई पूजाआजा गरी गौरीको प्रतिमा चढाउने गरिन्छ । गौराको ठूलो दिन अष्ठमीलाई अठेवाली भनिन्छ । निराहार वर्त बसेका महिलाहरु बिरुडाका भाँडा लिएर गौरा खलोमा गएर पार्वती र महेश्वरको मूर्तिलाई बिचमा पारी कान्छी औँला समाएर सगुन गाउँछन् ।
यसलाई अठेवाली भनिन्छ । महिलाहरुले आफ्ना पति र सन्तानको दीर्घायुको कामना गर्दै बिरुडाले पूजा गर्छन् । अठेवालीपछि गौरीको प्रतिमा राखिएको डालोलाई टाउकोमा राखेर नाच्ने गरिन्छ । गौरा नचाएको बेलामा अन्य महिलाहरुले सगुन गाएर अक्षता र फूलले पूजा गर्छन् । स्थानीय भाषामा गौरीको प्रतिमालाई लली घुमारा भनिन्छ । अठेवालीका दिन महिला र पुरुष छुट्टाछुट्टै गौरामा रमाउँछन् । पुरुषहरुले गौरा नचाउने स्थान नजिकै धुमारी, ढुस्को, देउडा खेल्ने गर्छन् ।
महिलाहरुले गौरालाई नचाएपछि साँझपख डालोभित्र राखिएका फलफूल तथा बिरुडालाई सफा कपडामा दुई जना पुरुषले आकाशमा फाल्ने गर्छन् । यसलाई फल फड्काउने भनिन्छ । ‘त्यो फल आकाशमा चुम्यो भने चिताएको मनोकाँक्षा पूरा हुने विश्वास गरिन्छ । त्यसलाई छोप्न हानथाप हुन्छ । अठेवालीका दिन पुरुषहरुले आफ्नो जनै समेत फेर्न गर्छन् भने वर्त बसेका महिलाहरुले नयाँ दुबधागो लगाउने गर्छन् ।
बिरुडा भिजाउनदेखि विसर्जनसम्मका दिन महिला पुरुष सबैका लागि उल्लासमय हुनथ्यो । यसमा धार्मिक र साँस्कृतिक दुबै महत्व छ । पछिल्ला वर्षमा देउडा खेल गौरामा मुख्य आकर्षण बनेको छ । सुदूरपश्चिममाझै गौरा भारतका कुमाउँ र गढवाल क्षेत्रमा पनि धुमधामसँग मनाइन्छ ।
जेष्ठता हेरेर घरका मान्यजन पालैपालो बिरुडाले सबै सदस्यहरुको टाउको पुज्छन । हजुरआमा ‘हिमालजस्तै अग्लो र दुबो जस्तै झ्यागिंनु’ भन्दै आर्शिबाद दिनुहुन्थ्यो । हजुरबा परदेशिएका छोरालाई बिरुडा पठाउन ‘रजिष्ट्रि पत्र’ को ब्यवस्था गर्नुहुन्थ्यो । त्यो पत्रको भित्रि पत्रमा बिरुडा राखेर अर्को दिन हुलाकी दाईको प्रतिक्षामा डाडाको पिपल चौतारीमा पुग्नुहुन्थ्यो ।
(साभार: कान्तिपुर/२०७२ भाद्र १९)

Comments

Popular posts from this blog

Tikapur Park

Gaura festival

धामीझाँक्री, हाम्रो समाज र हामी