मग्मगाउँदो टिकापुर

फूलैफूलको बगैंचा सहर। जसरी त्यहाँको पार्कमा थरिथरिका फूल फूल्छन्, त्यसैगरी नगरमा विभिन्न जातजाति बसोबास गर्छन। त्यस हिसाबले सिंगो टीकापुर सुन्दर फूलबारी हो। घुम्न लायक गन्तव्य।
घुम्ने धेरै चिज छन्। टीकापुरको पहिचान नै पार्क। त्यसबाहेक कर्नाली नदी, थारु बस्ती, बनाना रिसोर्ट, रानी महल, टाउन प्लानिङ आदि हेर्ने कुरा छन्। नजिकै मोहना खोलामा डल्पि्कन डुबुल्कि मार्छन। राम्रा होटल खुलिरहेका थिए। घुमन्ते माझ टीकापुरको मार्केटिङ भैरहेको थियो। पर्यटनको घाम छिप्पिँदै थियो। तर, नसोचेको भयो ७ भदौ ०७२ मा।

त्यो दिन टीकापुरमा आन्दोलनकारीबाट प्रहरीका सेती अञ्चल प्रमूख लक्ष्मण न्यौपाने सहित ८ प्रहरी र १ बालकको ज्यान गयो। नगर अशान्त बन्यो। लामो समय त्रासमा बाँचे स्थानीय, चाहे ती पहाडे हुन या थारु।

आज टीकापुर शान्त छ। तर, त्यहाँ पर्यटक छैनन्। केही दिन अघि गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ) नेपालको टोली टीकापुर पुगेको थियो। टोलीमा नाटोका महासचिव अमरबहादुर शाही, पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुधन सुवेदी, टानका केन्द्रीय सदस्य संगम शेर्पा पनि थिए। टीकापुर पार्क र बनाना रिसोर्ट घुमेर फर्कियो टोली।
रिसोर्टमा हामीले बनाना किङ कालु हमालसँग टीकापुरको पर्यटनबारे अन्तरक्रिया गर्यौंो। टीकापुर घटना पछि लामो समय पर्यटकका पाइला परेनन् टीकापुरमा। अचेल फाट्टफुट्ट आउन थालेका छन्। जबकि उत्तिकै लोभ्याउँछ पार्कले। बिहान टीकापुर पार्क पुग्यौं। रंगीचंगी फूल र रुखहरुले सजिएको पार्क ८४ हेक्टरमा फैलिएको छ। जहाँ रत्न र ऐश्वर्य बगैंचा छ। बगैंचामा महेन्द्र आरोग्य गृह र वीरेन्द्र विश्राम बाटिका पनि।

राजा महेन्द्रले २०२७ सालमा २९ दिन कैलालीको टीकापुरबाटै राजकाज चलाएका थिए। कञ्चनपुरको शुक्लाफाँटामा शिकार खेलिरहेका बेला मुटुको व्यथाले च्यापेपछि उनलाई आराम चाहियो। चिकित्सकको सल्लाहमा उनी टीकापुर पुगे। हावापानी राम्रो भएकाले २९ दिनसम्म त्यहाँ बसेर आराम गरे।

तिनताका सुरक्षाकर्मी टेन्टमा बसेका थिए। तर, राजाको लागि रातारात काठको घर बनाइयो। त्यही घर महेन्द्र आरोग्य गृह हो। पछि राजा वीरेन्द्रका लागि भनेर वीरेन्द्र विश्राम बाटिका बन्यो। पार्कमा रंगविरंगका फूल फूल्छन्। गुलाब मात्रै दर्जनौ थरिका। अरु फूल त्यत्तिकै। मग्मगाउँछ पार्क।

राजा महेन्द्र र रानी रत्नको चाहना अनुसार शिक्षा, स्वास्थ्य, वन, ढल र यातायातका हिसाबले व्यवस्थित गरियो टीकापुरलाई। खड्गबहादुर सिंहको अध्यक्षतामा ०२८ सालमा टीकापुर विकास समिति गठन भएपछि सरकारले त्यस क्षेत्रका ३ हजार एक सय ३३ बिघा जग्गा समितिलाई दियो। त्यहीँ वन फाँडेर पार्क बनाइयो। र, बस्ती बसालियो। थारू, बाहुन, क्षेत्री, ठकुरी, बाहुन, मगर, दमाई, कामी आदिको।

टीकापुरको पहिचान पार्क हो। जसलाई व्यवस्थित गर्न जरुरी छ। त्यो सँगै पार्क क्षेत्रमा जलविहार गराउनु पर्छ। पर्यटनकर्मी थर्कबहादुर शाहले कर्नाली नदीमा ...सिट अन टप कायाक' सुविधा थपे झैं अरु कृयाकलाप थपिनु पर्छ। पार्क ०६५ मा नगरपालिकाको स्वामित्वमा आएपछि पार्क चम्किन सकेको छैन। त्यसो त २०४६ को राजनैतिक परिवर्तन पछि समितिलाई राजनैतिक भर्ति केन्द्र बनाउँदा भाँडभैलो भैसकेको थियो।

महेन्द्र आरोग्य गृह र वीरेन्द्र विश्राम वाटिकालाई कि रिसोर्ट कि संग्रहालयका रुपमा विकास गर्नु पर्छ।

टीकापुरमा राम्रा राम्रा होटल छन्। सिद्धार्थ, ग्रिन एसिया, खप्तड प्याराडाइज रिसोर्ट, माउन्ट एभरेस्ट, राज, भावना, एरोमा, सेन्थल पार्कलगायत होटलमा २ सय भन्दा बढी बेड छन्। होटल सिद्धार्थ टीकापुरको पहिलो पर्यटकीय होटल हो। टीकापुरको नेटो काटेर आज सिद्धार्थ कटेज नाउँका रेस्टुँरा र होटल ठाउँ–ठाउँमा खुलेका छन्। खुल्दै छन्।


सिद्धार्थ बिजिनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णप्रसाद न्यौपानेका अनुसार उनका माइला दाजू लक्ष्मणले ०५४ सालमा टीकापुरको एउटा झुप्रामा चाउमिन पकाएर रेस्टुरेन्ट सुरु गरेका थिए। गुल्मिको हुँगा गाविसमा जन्मेका लक्ष्मणका ६ वटै दाजूभाई (बिष्णु, लक्ष्मण, ध्रुब, महेन्द्र, कृष्ण र केशवराज) होटल व्यवसायमै छन्। खासमा बिष्णुले गुल्मि सदरमुकाम तम्घासमा पहिल्यै होटल सुरु गरेका थिए। तर, सिद्धार्थको जन्म भने टीकापुरमा भयो।

आजका दिनमा सिद्धार्थ बिजिनेस ग्रुपले टीकापुर, चिसापानी, सुर्खेत, नेपालगञ्ज, वुटवल, चुम्लिङटार र काठमाडौंमा ८ होटल र ५ रेस्टुँरा चलाउँछ। करिब हजार जना रोजगार छन्। जुम्ला, भैरहवा, इटहरी, बिर्तामोड र काठमाडौंमा सुविधायुक्त होटल खोल्ने उसको योजना छ ।

टीकापुरमा अनौठो रिसोर्ट छ, बनानाज् रिसोर्ट। केरा बगैंचामा कालु हमालले सुरु गरेको 'बनानाज रिसोर्ट'मा केराको जरादेखि फूलसम्मका परिकार पाइन्छ। केराबाट बनेका निम्की, अचार, तरकारी, फिंगरचिप्स, पकौडा, मम, खीर, चिप्स, ब्रान्डीदेखि वाइनसम्म तीन दर्जन परिकार। बनाना किङ हमालले एउटा बनाना रेष्टुरेन्ट पनि चलाएका छन्। बनानाज रिसोर्ट अचेल आशा हमालको स्वामित्वमा छ।

कालुले टीकापुर क्षेत्रमै अर्को रिसोर्ट ...रानीमहल' सुरु गरेका छन्। ५ विघा केराबारीमा सुरु गरिएको। रानी पदमकुमारीले ११९ वर्ष अघि खनाएको रानी कुलो अहिले सामुदायिक भएको छ। उनको दरबारको भग्नावशेष फेला पारेपछि त्यहाँ हमालले रानीमहल स्तम्भ ठड्याएका हुन्। टीकापुर बसपार्कदेखि पाँच किलोमिटर दुरीमा छ रानीमहल। त्यहाँ दालभातदेखि केराका थरिथरि परिकार पाइन्छ।

एग्रो टुरिज्मको नुमना हो रिसोर्ट। किसानको बारी नै रिसोर्ट बन्न सक्छ भन्ने प्रमाणित गरिदिएका छन् उनले। आफ्नो सिको गर्दै अन्यत्रका किसानले कतै सुन्तला, कतै आँप र कतै स्याउका परिकारसहित रिफ्रेसमेन्ट सेन्टर खोल्नु पर्नेमा उनी जोड दिन्छन्।
आन्तरिक पर्यटकका लागि टकिापुर आकर्षक गन्तव्य हुँदै हो, भारतीयलाई पनि लोभ्याउन सक्छ। १६ किमिमा भारतीय सीमा बजार पिकुनिया छ। खक्रौलाको मोहना नदीमा पुल बनिसक्यो। उताबाट भारतीय तान्ने अभियान चलाउन अबेर गर्नु हुँदैन।
चिसापानीका माछा चाखेर टीकापुर जाने हो कि? चिसापानी बजारमा माछा बेच्ने थुप्रै रेस्टुँरा छन्। सुदूर र मध्यपश्चिमलाई जोड्ने कर्नाली नदिमाथि चिसापानी पुलबाट र्यााफ्िटङ गर्दै टीकापुर पुग्न सकिन्छ। स्थानीय व्यवसायीले त्यस्तो सुविधा मिलाउँछन्। चिसापानी– टीकापुर पार्कसम्म १६ किमिमा र्या फ्िटङ गर्न चार घन्टा।
टीकापुरबाट फर्केपछि मनमा केही कुरा खेलिरह्यो। जसरी फुलबारीमा बेली, जाई, जुही, चम्पा, चमेली, गुलाब, सयपत्री, मखमली सबैको समान अधिकार हुन्छ। त्यसैगरि टीकापुर पनि सबै समुदायको साझा हो। शान्ति र सद्भावको सञ्देश फैलाउन सके टीकापुर आकर्षक पर्यटन गन्तव्यका रुपमा चम्किन सक्छ ।
पोहोरको टीकापुर घटना पछि केही मान्छेको मनमा तुष बाँकी नै रहेछ। त्यो तुष बढ्दै गयो भने दूर्घटना हुन सक्छ। वर्षौंदेखि मिलेर बसेका समुदायबीच हार्दिकताको फुल फुलाइराख्न जरुरी छ। त्यसका लागि पहाडे र थारु समुदायका अगुवालाई एकै ठाउँमा उभ्याएर दुबै पक्षले आपसमा क्षमा याचना गर्ने पो हो कि!
इतिहासबाट पाठ सिक्नु पर्छ। प्रतिशोध साँध्यो भने शान्ति हुँदेन। अब फेरि त्यस्तो दुःखद् घटना नदोहोरियोस्। टीकापुर सुन्दर फूलबारीका रुपमा सधैं चम्किरहोस्।

कसरी पुग्ने : काठमाडौं–टीकापुर ६९० किमि। काठमाडौंबाट टीकापुरसम्म बस चल्छन्। पूर्व–पश्चिम राजमार्गको लम्कीबाट १८ किमिमा टीकापुर पार्क। काठमाडौं–धनगढी हवाइ उडान १ घन्टा। धनगढी टीकापुर ९० किमि।

[अमृत भादगाउँलेको सामग्री नागरिकन्युज बाट साभार, तस्बिर स्रोत: इन्टरनेट]

Popular posts from this blog

Tikapur Park

Gaura festival

धामीझाँक्री, हाम्रो समाज र हामी