गंगा दशहरा मेला - बेहडाबाबा, कैलाली


बेहडाबाबा मन्दिर सुदूरपश्चिम क्षेत्रको मात्रै नभई नेपालकै चर्चित मन्दिर मध्येको एक हो । जहाँ पति तथा पुत्रलाभको विश्वास बोकेर तिर्थालुहरु आउने गर्छन् । सोचेको काम पुरा हुने भएकैले होला,  मन्दिरमा श्रद्धालुहरुको भीड बढिरहेको पाइन्छ । 
behadababa temple
बेहड़ाबाबा  मन्दिर, कैलाली 
धनगढी उपमहानगरपालिका–१६ (साविक उर्मा–४) रामपुरस्थित बेहडाबाबा शिव मन्दिरमा लाग्ने गंगा दशहरा मेलाको तयारी तीब्र पारिएको छ । हजारौं भक्तजनले दर्शन गर्ने बेहडाबाबा मन्दिरमा यसवर्ष असार १ गते (सक्रान्तिका दिन) गंगा दशहरा पूजा परेको छ । तीन दिनसम्म जारी रहने उक्त मेलामा नेपाल र भारतका हजारौं दर्शनार्थी तथा अवलोकनकर्ताहरुको जमघट हुने गर्दछ । 

पवित्र धार्मिक आस्थाको केन्द्र मानिने उक्त मन्दिरमा वर्षेनी लाग्दै आएको मेलाको तयारी तीब्र पारिएको बेहडाबाबा मन्दिर ब्यवस्थापन सेवा समितिले बताएको छ । समितिका अध्यक्ष खेम चन्दका अनुसार मन्दिरको सरसफाई तथा रंग रोगन, बाटो मर्मत सम्भार, खानेपानी र सुरक्षको व्यवस्थापन कार्य तीब्र गतिमा भैरहेका छन् । त्यस्तै मन्दिरमा दर्शन तथा मेला अवलोकनको लागि आउने दर्शनार्थी तथा आगन्तुकहरुलाई सहज रुपमा पूजापाठ तथा घुमफिरको लागि रणनीतिक योजना बनाउने काम भैरहेको अध्यक्ष चन्दले बताउनुभयो । 
त्यस्तै धनगढी उपमहानगरपालिकाका ईन्जीनियर द्धिजराज भट्टले स्थानीय आयोजक समिति र नगरपालिकावीच दुई पक्षीय सहमति भएर मेलाको तयारी भैरहेको बताउनुभयो । रंगरोगन, बाटो मर्मत सम्भार र खानेपानीको लागि अर्टिजन बोरिङ हाल्ने काम जारी रहेको बताउँदै ईन्जीनियर भट्टले दुई पक्षीय सहमति अनुसार मन्दिर तथा मेलाबाट संकलन हुने रकमको ६० प्रतिशत समिति र ४० प्रतिशत नगरपालिकाको पाउने जानकारी दिनुभयो । 
बेहडाबाबा मन्दिर कैलाली सदरमुकाम धनगढीवाट करिब १० किलोमिटर पूर्व र पूर्व–पश्चिम राजमार्गको चौमाला बजारवाट करिब छ किलोमिटर दक्षिणमा अवस्थित छ । मन्दिरसम्म जाने दुबैतिरवाट सडक अहिले कालोपत्रे हुँदैछ ।


मन्दिरको ऐतिहासिक पक्ष 

स्थानीय बुद्धिजीवीहरुका अनुसार मन्दिर भएको स्थान घना जंगल रहेको स्थान हो । परापूर्वकालमा शिव लिंग आफै उत्पत्ति भएपछि त्यहाँ मन्दिर स्थापना गरिएको मन्दिरका पूजारी तथा बयोबृद्ध लक्ष्मी चौधरीको भनाई छ । रामपुर गाउँस्थित जंगल किनारमा अवस्थित सो मन्दिरमा रहेको शिव लिंग परिवर्तनशील मानिन्छ । उहिले सानो रुपमा देखिएको सो शिव लिंग अहिले बढ्दै–बढ्दै सात आठ फिट अग्लो भएको छ ।  

उहिले भारतीयहरुको सो क्षेत्रमा दवदवा थियो । जंगबहादुर राणाले ब्रिटिश कम्पनीलाई सघाए बापत प्राप्त भएको नयाँ मुलुक भित्रको यस ठाउँमा बाक्लो जंगल भएका कारण मानिसहरुको त्यति बसोबास थिएन ।  पछि त्यहाँ फाट्टफुट्ट नेपाली मूलका आदिबासीहरुले बसोबास शुरु गरे । 
स्थानीय बासिन्दाका अनुसार भारतीय नागरिकहरु त्यहाँ घुम्न आएका बेला लिंग फेला पारेका थिए । यो भूभाग नेपालमा पर्छ भन्ने भएपछि भारतीयहरु शिव लिंगलाई डोरीले बाँधेर कयौं पटक उखेल्न प्रयास गरेको तर उनीहरुको प्रयास सफल नभएपछि फलामको घनले हिर्काएका थिए रे । घनले हिर्काएको छाप अहिले पनि लिंगको माथिल्लो भागमा स्पष्ट देख्न सकिन्छ । लिंग त्यहाँबाट हलचल नभएपछि सोही ठाउँमै मन्दिर स्थापना गरिएको जनविश्वास छ । 
आदिबासी थारूले त्यस ठाउँको जंगल फँडानी गरी बस्नयोग्य बनाएपछि मन्दिर स्थापना गर्न तथा त्यसको स्याहारका लागि भारतीयहरु पनि त्यहाँ आई बसोबास गरेको मानिन्छ । अहिले त्यहाँ पक्की मन्दिर स्थापना गरिएको छ । र भारतीय नागरिकलाई पुजारीवाट हटाई त्यहाँका आदिबासी चौधरीलाई नियुक्त गरिएको छ । 
मन्दिर परिसरमै महादेवी नामको एउटा ठूलो तलाउ पनि रहेको छ । त्यस तलाउमा स्नानगरी दर्शनार्थीहरु शिवजीको पूजा गर्ने गर्दछन् । गंगा दशहराका अलवा माघे संक्रान्तिका दिन जलासयमा स्नानगरी मन्दिरमा दर्शन गर्नाले वर्षभरिको पाप पखालिने जनविश्वास गरिन्छ । यसका अतिरिक्त त्यहाँ दर्शन गर्नाले पारिवारिक सुख, सन्तानलाभ, धनप्राप्तीका साथै नयाँ जोडी प्राप्ती हुने विश्वास गरिन्छ । यस कारणले पनि त्यहाँ नेपाल र भारतबाट पर्यटकहरु दर्शनका लागि उल्लेख्य संख्यामा आउने गर्दछन् ।

(साभार: गोरखापत्रबाट भवानी ऐरको सामग्री) 

Popular posts from this blog

Tikapur Park

Gaura festival

धामीझाँक्री, हाम्रो समाज र हामी